
लेखनाथ, १३ पुस ।
नेपाली संस्कृती अनुसार विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यस्को जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली गीत प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।
जन्ती दुलही लिन हिडेपछि दुलाहाका घरमा रहेका महिलाहरुले आमा छोरा, श्रीमान श्रीमती र सासु बहारीका बिचको सम्बन्धका बारेमा गीत मार्फत प्रस्तुत गरिने गीती अवस्था नै रत्यौली हो र रत्यौलीमा दुई महिला श्रीमान श्रीमतीको भेषमा सांगेतिक अभिनय प्रस्तुत हुने गर्दछ कतिपय स्थानमा रत्यौलीमा केहि नजानिदो पाराको अश्लीलता पनि देखिने गरिन्छ । महोत्सवमा भने त्यसरी देखिने अश्लीलतालाई हटाएर समाजमा पाच्य हुने शब्द समेटेर रत्यौली प्रस्तुत हुने गरेको आयोजकले जनाएका छन ।
मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्वअध्यक्ष शिवहरी ढुंगानाले भने । रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुंगानाले वताए । उनका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ ।
रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायन स्थललाई निकै रमाइलो बनाउने गर्दछन । महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्सव बुझाउन सहयोग पुग्ने रत्यौली प्रतियोगिताकी संयोजक गंगा मल्लले वताईन । पुषको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेवाजाको साथमा बेहुला र बेहुली झै सजाएर विवाह कै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको थियो ।
महोत्सवको थप आर्कणको रुपमा रहेको रत्यौली गीत प्रतियोगिता अन्तरगत २० बटा समुह पहिलो चरणबाट छनोट भएका थिए भने शुक्रबार २० टिम मध्येबाट उत्कृष्ट घोषणा गरिएको छ । प्रतियोगितामा तोरीचौर महिला समुह पोखरा–३३ पहिलो हुन सफल भएको छ भने, आवासनगर आमा समुह पोखरा–२१ द्धित्तीय, आर्दश दिदि बहिनी महिला समुह पोखरा–३० तृतीय, गायत्री आमा समुह, पोखरा–३२ र नारी विकास आमा समुह पोखरा–३० सान्त्वना हुन सफल भएका छन । यस्तै नमुना आमा समुह पोखरा–३१ रामटोल उत्कृष्ट नृत्य र ककरेह महिला समुह, पोखरा–३१ ले उत्कृष्ट लुठोको उपाधि प्राप्त गरेको छ ।
शुक्रबार नै झाँकी र्यालीतर्फको नतिजा पनि घोषणा गरिएको छ । उत्कृष्ट हुने झाँकीहरुमा लेखनाथ नेवाः खल प्रथम, नेपाल मगर संघ बुढिबजार ईकाई द्धित्तीय, मगर समाज पोखरा–२९ सैनिक तृतीय, नेपाल कुमाल समाज सुधार समिति चौंथो र मगर पुन संघ पाँचौ हुन सफल भएका छन । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुस ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको नवौं दिनसम्म २ लाख ५० हजार दर्शकहरुले अवलोकन गरेका छन ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म ६ करोडभन्दा माथीको कारोबार भएको छ । हालसम्म झण्डै ६ करोड २० लाख बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
शुक्रबार लोकदोहोरी कलाकारहरु, रामजी खाँण, आशा बिसी, तारा थापा, मनु राना, लोकनाथ सापकोटा, वसन्त लम्साल र नवराज अधिकारी लगायतले प्रस्तुती रहेको थियो भने हाँस्यव्यग्यतर्फ दिनेश काफ्लेको प्रस्तुती रहेको थियो । यस्तै बेलुका लाईभ कन्सर्टमा आश्षि राना ‘लाउरे’ र एलिना चौहान लगायतले स्टेज तताएका थिए ।
महोत्सवमा शनिबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, कला लम्साल, घनश्याम रिजाल, रिया खड्का, कृष्ण सुवेदी, रिया खड्का, रति खड्का, टेकराज भण्डारी र सरिता सारु मगर लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ सिताराम कटृेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को प्रस्तुती रहनेछ । यस्तै सांझ लाईभ कन्सर्टमा ईलिमेण्ट ब्याण्ड र सञ्जना श्रेष्ठले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।
साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन




