
पोखरा, २३ असोज।
जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको यातायात क्षेत्रका समस्या, चुनौती र सरोकारका विषयमा सम्बन्धित निकाय तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। यातायात व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र सेवाग्राहीमैत्री बनाउने तथा नागरिकका गुनासा सम्बोधन गर्ने उद्देश्यले शुक्रबार कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कार्यक्रमको उद्घाटन गर्दै यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिए। उनले चालक तथा सहचालक व्यवस्थापन, सडक र पार्किङको उचित प्रबन्ध, सडक दुर्घटना न्यूनीकरण, सवारी प्रदूषण नियन्त्रण तथा अपाङ्गतामैत्री र प्रविधिमैत्री यातायात प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने बताए।
यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र विकृतिरहित बनाउन जनचेतना अभिवृद्धिसँगै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो। सडक दुर्घटना कम गर्दै यात्रुको सुरक्षा र सुविधालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनले विशेष जोड दिए।
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक तथा यात्रालाई सुरक्षित बनाउने उद्देश्यले गाउँपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए। उनले यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरी तत्काल सुधारका लागि प्रयास भइरहेको बताए।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव नवराज शर्माले स्थानीय यातायात व्यवस्थापनमा स्थानीय तहसहित सम्बन्धित सरकारी निकायलाई थप जिम्मेवार बनाउने प्रयास भइरहेको बताए। कार्यक्रममा प्राप्त गुनासा र सुझावलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान आवश्यक पहल गरिने उनको प्रतिबद्धता थियो।
सवारी चापदेखि लेन अनुशासनसम्मका समस्या उठे
कार्यक्रममा सहभागी सरोकारवालाले यातायात क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि सुझाव प्रस्तुत गरेका थिए। जिल्ला समन्वय अधिकारी नवराज बरालका अनुसार सवारी अनुमति नवीकरणमा ढिलाइ, सवारी चापका कारण व्यवस्थापनमा कठिनाइ, तीव्र गति, जथाभावी ओभरटेक, अव्यवस्थित बस स्टप तथा घुम्तीमा लेन व्यवस्थापन प्रमुख समस्याका रूपमा उठेका थिए।
त्यस्तै, लेन अनुशासन कायम गर्ने, मालवाहक सवारीसाधनका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने तथा सडकमा सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा पनि सहभागीले ध्यानाकर्षण गराएका थिए।
नागरिक समाजका अगुवा रामबहादुर पौडेलले सडकलाई व्यवस्थित र सुरक्षित बनाउन चालक स्वयं अनुशासित हुनुपर्नेमा जोड दिए। उनका अनुसार ट्राफिक नियमको पालना र जिम्मेवार सवारी सञ्चालन दुर्घटना न्यूनीकरणका आधार हुन्।
पूर्वाधार अभाव र अव्यवस्थित पार्किङ प्रमुख चुनौती
कार्यक्रममा यातायात व्यवस्थापनका समस्या, चुनौती र समाधानका प्रयासबारे यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख ढाकाराम शर्माले अवधारणापत्र प्रस्तुत गरेका थिए।
उनले सवारीसाधनको संख्या बढ्दै जानु, सडक पूर्वाधारको पर्याप्त स्तरोन्नति नहुनु, आधुनिक सडक संरचनाको कमी, पार्किङस्थलको अभाव, वैज्ञानिक रूपमा बाटो इजाजत व्यवस्थापन हुन नसक्नु तथा सडक किनार अतिक्रमण हुनु यातायात क्षेत्रका प्रमुख समस्या रहेको उल्लेख गरे।
त्यसैगरी, सवारी प्रदूषण बढ्नु, लापरबाहीपूर्ण रूपमा सवारी सञ्चालन हुनु र केही स्थानमा यातायात व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिनुले व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको उनले बताए। शर्माले यी समस्या समाधानका लागि भइरहेका प्रयासबारे पनि जानकारी गराएका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी तथा सम्बद्ध संघसंस्थाका प्रमुख र प्रतिनिधि, नागरिक समाज, उपभोक्ता मञ्च, कास्कीका विभिन्न पालिकाका प्रशासनिक अधिकारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।
जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत मन्तव्य राखेकी थिइन् भने जिल्ला समन्वय अधिकारी नवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमबारे सूचना अधिकारी लक्षु शर्माले जानकारी दिएका हुन्।





