पोखराको कालिका बस दुर्घटना : पाँच मृतकको पहिचान खुल्यो, १४ जना घाइते

-


     केन्द्रीय आवाज    
     असाेज २३ गते २०८३ मा प्रकाशित


पोखरा, २३ असोज।

कास्कीको पोखरा महानगरपालिका–२८ कालिका क्षेत्रमा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ। दुर्घटनामा चार विद्यार्थी र एक ज्येष्ठ नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने १४ जना घाइते भएका छन्।

माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर पोखरातर्फ आउँदै गरेको बस ओख्ले र शान्ति मैदानबीचको सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो। मृत्यु हुनेमा अन्दाजी १४–१५ वर्षका विद्यार्थी ममता तिवारी, अशिम कँडेल, शुभेक्षा तिवारी र रोनिका नेपाली तथा पोखरा–२८ निवासी अन्दाजी ५६ वर्षीय बाबुराम तिवारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीका अनुसार दुर्घटनाग्रस्त बसमा चालकसहित १९ जना सवार थिए। बसमा सवार विद्यार्थीहरू कक्षा १० मा अध्ययनरत रहेको र परीक्षाको तयारीका लागि बिहान ट्युसन कक्षा पढ्न विद्यालय जाँदै गरेको बताइएको छ।

घाइतेको गण्डकी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार

दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अस्पतालमा उपचाररत घाइतेहरूमा सोनिया तिवारी, स्नेहा खत्री, अंकित पराजुली, स्नेहा तिवारी, स्मृति खत्री, सुप्रिया आचार्य, मेरिना तिवारी, आकृति बुढाथोकी र तुलबहादुर गुरुङलगायत रहेका छन्। अस्पतालमा मनोहरी पौडेलले दिएको जानकारीअनुसार घाइतेहरूको उपचार भइरहेको छ।

बिहान ट्युसन पढ्न विद्यालय जाँदै गरेका विद्यार्थी दुर्घटनामा

स्थानीय कालिका बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरू परीक्षाको तयारीका लागि ट्युसन कक्षा लिन बिहान घरबाट बस चढेर विद्यालय जाँदै थिए। शुक्रबार बिहान करिब साढे ६ बजे बस सडकबाट भिरमा खसेको बताइएको छ।

दुर्घटनाको खबर फैलिएपछि मृतक तथा घाइतेका आफन्त र स्थानीयवासी घटनास्थल तथा अस्पताल परिसरमा पुगेका थिए। अस्पताल परिसरमा आफन्तको भीड लागेको थियो भने शोकाकुल परिवारजनको रुवाबासीले वातावरण भावविह्वल बनेको थियो।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।