
पोखरा, असार १९
कर्तव्यपालनकै क्रममा असामयिक निधन भएका प्रहरी सहायक निरीक्षक गुन्जबहादुर रोकाहाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नबीन कार्कीले शोकाकुल परिवारलाई भेटी गहिरो समवेदना व्यक्त गरेका छन्।
प्रहरी उपरीक्षक कार्की नेतृत्वको टोली बिहीबार स्याङ्जाको भीरकोट नगरपालिका–६ स्थित स्व. रोकाहाको निवासमै पुगेर परिवारजनसँग भेटघाट गरेको हो। उक्त अवसरमा उनले दिवंगत रोकाहाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस कठिन घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए।
स्व. रोकाहा पर्यटक प्रहरी कार्यालय, पोखरामा कार्यरत थिए। नियमित ड्युटीका क्रममा उनी अचानक अस्वस्थ भएपछि उपचारका लागि पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा असार ११ गते उनको निधन भएको प्रहरीले जनाएको छ।
समवेदना व्यक्त गर्न पुगेको टोलीमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रकुमार उपाध्याय, पर्यटक प्रहरी कार्यालयका प्रहरी कर्मचारी तथा अन्य सुरक्षाकर्मीको पनि सहभागिता रहेको थियो। टोलीले स्व. रोकाहाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको थियो।
प्रहरी संगठनले स्व. रोकाहालाई इमानदार, कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा स्मरण गर्दै उनको योगदान सदैव सम्मानका साथ सम्झिरहने जनाएको छ। उनको असामयिक निधनले प्रहरी संगठनसँगै परिवार, आफन्त र सहकर्मीहरूलाई अपूरणीय क्षति पुगेको बताइएको छ।






