
पोखरा, असार १५
एचआईभी संक्रमितलाई समयमै पहिचान गरी नियमित उपचारको दायरामा ल्याउन सके संक्रमण फैलिने दर उल्लेखनीय रूपमा घटाउन सकिने स्वास्थ्य विज्ञहरूले बताएका छन्।
एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपाल, प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयुक्त आयोजनामा आइतबार पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले एचआईभीको रोकथामका लागि उपचार नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. राजेन्द्र पौडेलले एचआईभी संक्रमितले नियमित रूपमा एन्टीरेट्रोभाइरल (एआरटी) औषधि सेवन गरेमा भाइरसको मात्रा अत्यन्त न्यून हुने र अरूमा संक्रमण सर्ने जोखिम लगभग समाप्त हुने बताए।
उनले भने, “नियमित उपचारमा रहेका करिब ९८ प्रतिशत संक्रमितबाट अन्य व्यक्तिमा भाइरस सर्दैन। त्यसैले संक्रमितलाई समयमै पहिचान गरी उपचारको दायरामा ल्याउनु नै संक्रमण नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो।”
कार्यक्रममा एएचएफ नेपालकी कार्यक्रम संयोजक डा. गंगा ढकालले आर्थिक अवस्था जस्तोसुकै भए पनि एचआईभी संक्रमितले गुणस्तरीय उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ एएचएफले निरन्तर वकालत गर्दै आएको बताइन्। सन् २००८ देखि नेपालमा कार्यरत एएचएफले हाल सरकारका २० वटा एआरटी क्लिनिकसँग सहकार्य गर्दै उपचार सेवा प्रदान गरिरहेको जानकारी दिँदै उनले संस्थाले उपचारसँगै संक्रमितको पोषण, मनोसामाजिक परामर्श तथा सामाजिक पुनस्र्थापनामा समेत सहयोग गर्दै आएको उल्लेख गरिन्।
प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकीका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाले प्रदेशमा एचआईभी संक्रमणको पछिल्लो अवस्था प्रस्तुत गर्दै गत जेठ मसान्तसम्म १४ हजार ४ सय १६ जनाको परीक्षण गर्दा १ सय ४१ जनामा (०.९७ प्रतिशत) नयाँ संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार गण्डकी प्रदेशमा हाल ३ हजार १ सय ७१ जना एचआईभी संक्रमितले एआरटी सेवा लिइरहेका छन्। तीमध्ये कास्कीमा सबैभन्दा बढी १ हजार ६ सय २९ जना रहेका छन्। उपचारमा रहेका संक्रमितमध्ये १ हजार ५ सय ८९ पुरुष र १ हजार ५ सय १५ महिला छन् भने १५ वर्षमुनिका ५६ जना बालबालिका पनि नियमित उपचारमा छन्। साथै, ३ हजार ३ सय १७ गर्भवती महिलाको एचआईभी परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको उनले बताए।
एएचएफ नेपालका देशीय निर्देशक दिव्यराज जोशीले नेपालको स्वास्थ्य क्षेत्रमा कुल बजेटको करिब १० प्रतिशत लगानी आवश्यक भए पनि हाल करिब ४ प्रतिशत बजेटमै काम गर्नुपर्ने अवस्था रहेको बताए। उनले पर्याप्त लगानी, प्रभावकारी नीति र उपचार सेवाको विस्तारमार्फत एचआईभी नियन्त्रण अभियानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत अर्जुन क्षत्री तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एआरटी इञ्चार्ज श्रीमाया सिग्देलले एचआईभी संक्रमितप्रति समाजमा अझै पनि विभेद र गलत धारणा कायम रहेको उल्लेख गर्दै त्यस्ता सोच परिवर्तन गर्न सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए।
सन् १९८७ मा अमेरिकाको लस एन्जल्समा स्थापना भएको एएचएफ हाल विश्वका ४५ देशमा सक्रिय छ। संस्थाले विश्वभर ३० लाखभन्दा बढी एचआईभी संक्रमितलाई उपचार, हेरचाह र सहयोग उपलब्ध गराउँदै आएको छ। नेपालमा पनि सरकार तथा विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै एचआईभी परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको एएचएफले जनाएको छ।






