मुस्ताङका फोटोग्राफर एकजुट, तदर्थ समिति गठन

-


     केन्द्रीय आवाज    
     जेठ १८ गते २०८३ मा प्रकाशित


१८ जेठ, पोखरा
फोटोग्राफी पेशालाई संगठित र सुदृढ बनाउने उद्देश्यसहित मुस्ताङका फोटोग्राफरहरू एकजुट भएका छन ्। फोटोग्राफर संघ गण्डकी को १०औँ संस्थाका रूपमा मुस्ताङ फोटोग्राफर संघ गठन गरिएको हो ।
संघको आयोजनामा जेष्ठ १५ गते म्याग्दीको बेनीमा फोटोग्राफी क्षेत्रका चुनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यसपछि जेठ १६ गते मुस्ताङको जोमसोममा सम्पन्न भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
मुस्ताङका फोटोग्राफरहरूको स्थानीय व्यवस्थापनमा सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट व्यावसायिक फोटोग्राफरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा फोटोग्राफी तथा भिडियो ग्राफी क्षेत्रमा देखिएका अवसर र चुनौतीहरू, पेशागत दायित्व, बदलिँदो प्रविधि, बजार प्रतिस्पर्धा तथा गुणस्तर कायम राख्ने विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरू बीच भएको गहन विचार–विमर्शले कार्यक्रमलाई पेशागत विकासका दृष्टिले महत्वपूर्ण बनाएको आयोजकले जनाएको छ ।


कार्यक्रमले सुशील बाबु थकालीको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विशान थकाली, सचिवमा पेमाकोर्चुङ गुरुङ, कोषाध्यक्षमा कुन्दन तामाङ चयन भएका छन ्। त्यसैगरी सदस्यहरूमा प्रमेश गुरुङ, देउबहादुर बिक, संघर्ष शेरचन, सोजन हिराचन, सुनमाया पुर्जान्थ र निरज थकाली रहेका छन्। सुनिल शेरचन र अमित थकालीलाई सल्लाहकारमा मनोनयन गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई संघका अध्यक्ष नारायण बहादुर केसीले बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वबाट स्थानीय तथा प्रदेशस्तरमा फोटोग्राफी पेशाको समृद्धि, एकता र व्यावसायिक क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशभर क्रियाशील फोटोग्राफरहरूलाई एउटै मञ्चमा आबद्ध गर्दै अनुभव, विचार र चुनौतीहरू आदान–प्रदान गराउने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रम आगामी दिनमा अझ प्रभावकारी र सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
अध्यक्ष केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रेमप्रसाद पराजुलीले गर्नुभएको थियो।