-


     केन्द्रीय आवाज    
     जेठ १४ गते २०८३ मा प्रकाशित


पृथ्वीचोक–फिर्केखोला क्षेत्रमा अतिक्रमण हटाउने अभियान तीव्र, संरचनामा डोजर चलाउने क्रम जारी
१४ जेठ २०८३, बिहीबार पोखरा
पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। यस क्रममा पृथ्वीचोक बसपार्क क्षेत्र र फिर्केखोला आसपासका अवैध संरचनामा डोजर चलाउने कार्य निरन्तर रूपमा अघि बढाइएको छ।
बिहीबार बिहानदेखि पृथ्वीचोकस्थित बसपार्क अगाडि रहेका विभिन्न सार्वजनिक संस्थाहरूले निर्माण गरेका संरचना भत्काउने कार्य सुरु गरिएको छ। साथै, फिर्केखोला क्षेत्रका अतिक्रमित संरचना हटाउने अभियान पनि सँगसँगै अघि बढाइएको महानगरपालिकाले जनाएको छ।
पृथ्वीचोक क्षेत्रमा बाइपास सडक विस्तार गर्ने लक्ष्यसहित सहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, हिमाली सांस्कृतिक परिवार लगायत संस्थाहरूले निर्माण गरेका भवनहरू हटाइएको छ। त्यस्तै, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड युनियन महासंघ तथा नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका कार्यालय भवनहरू समेत सोही अभियान अन्तर्गत हटाउन थालिएको छ। यी संरचनाहरू पोखरा उपत्यका नगर विकास समितिबाट लिएको जग्गामा निर्माण गरिएका थिए।
यसअघि तत्कालीन नेकपा (माओवादी) सम्बद्ध मजदुर संगठनले प्रयोग गर्दै आएको संरचना स्वयं संस्थाले नै हटाइसकेको थियो। सहारा क्लबद्वारा सञ्चालन गरिएको सार्वजनिक शौचालय पनि सोही क्षेत्रमा पर्ने भएकाले हटाउने प्रक्रियामा समावेश गरिएको छ।
महानगरपालिकाले संरचना हटाउन ३५ दिने अन्तिम सूचना जारी गरेको थियो, जसको म्याद जेठ ९ गते नै सकिएको थियो। म्याद सकिएपछि डोजर परिचालन गरिएको हो। संरचना हटाएसँगै पृथ्वीचोकदेखि नयाँबजारसम्मको सडकलाई दुईतर्फी विस्तार गरिने योजना रहेको छ।
नगर प्रमुख धनराज आचार्यले लामो समयदेखि विभिन्न संस्थाले प्रयोग गर्दै आएको उक्त जग्गालाई अब सार्वजनिक हितमा सडक विस्तारका लागि प्रयोग गरिने बताए। साथै, अभियानमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति उनले आभार व्यक्त गरेका छन्। महानगरपालिकाले सो क्षेत्रमा रहेका सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्ने तयारी पनि गरिरहेको जनाएको छ।
महानगरपालिकाले पृथ्वीचोक–हङकङ बजार हुँदै नयाँबजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने सूचना जारी गरेपछि त्यहाँ व्यवसाय गर्दै आएका व्यापारीहरूले केही दिनअघि देखि नै सटर खाली गर्न थालेका थिए। डोजर लगाउने तयारीसँगै सम्बन्धित संस्थाहरूले आफ्ना भवनहरू खाली गरिसकेका छन्।
यसैबीच, फिर्केखोला अतिक्रमण हटाउने अभियान पनि तीव्र पारिएको छ। चौथो दिनसम्ममा साना–ठूला गरी १०५ वटा संरचना हटाइएको महानगरपालिकाले जनाएको छ। बुधबार मात्रै वडा नम्बर १८ र २ को सिमानामा रहेका ८ वटा, वडा नम्बर ४ र ५ मा १ पक्की र ३ कच्ची तथा वडा नम्बर ७ र ८ मा ५ वटा कम्पाउन्ड वाल र ६ वटा स्थायी संरचना हटाइएको छ। चौथो दिन मात्रै २३ वटा संरचना हटाइएको विवरण सार्वजनिक गरिएको छ।
अभियानमा ३ वटा जेसीबी र २ वटा एक्स्काभेटर प्रयोग गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल तथा प्राविधिक टोली सक्रिय रूपमा परिचालन गरिएको छ।
महानगरपालिकाले फिर्केखोला क्षेत्रलाई भविष्यमा आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ। सो योजना अन्तर्गत खोला किनारमा साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवद्र्धन तथा आधुनिक प्रकाश व्यवस्थासहित सुरक्षित र व्यवस्थित करिडोर निर्माण गरिने जनाइएको छ।