७ दिनभित्र फिर्केखोलाका अनधिकृत संरचना हटाउन महानगरको ताकेता

-


     तुलसी राम सुवेदी    
     असाेज ५ गते २०८३ मा प्रकाशित



पोखरा, ५ असोज ,

पोखराको फिर्केखोलाको खोलाघर तथा बहाव क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन पोखरा महानगरपालिकाले सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र संरचना खाली गर्न अन्तिम अल्टिमेटम दिएको छ। महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै यसअघि दिइएको समयसीमाभित्र संरचना नहटाउनेलाई अब कुनै थप समय नदिइने स्पष्ट पारेको हो।

अधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब आठ किलोमिटर लामो फिर्केखोलाको खोलाघर संरक्षण तथा व्यवस्थित गर्ने योजनाअन्तर्गत महानगरले लामो समयदेखि अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाउँदै आएको छ। यसक्रममा यसअघि भदौ १५ गतेसम्म सम्बन्धित संरचना धनीलाई आफ्नै खर्चमा संरचना हटाउन अन्तिम म्याद दिइएको थियो।

तर भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछि निरन्तर परेको वर्षाका कारण संरचना हटाउने कार्यमा केही ढिलाइ भएको महानगरपालिकाले जनाएको छ। विपद्का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यसअघि समय पाएका केही संरचना धनीलाई पुनः आफ्ना संरचना हटाउन अवसर दिइएको थियो।

महानगरका अनुसार यसअघि जारी गरिएको सूचनापछि फिर्केखोलाको बहाव क्षेत्रमा रहेका अधिकांश संरचना हटाइसकिएका छन्। केही संरचना धनीले आफैँ संरचना हटाउने प्रतिबद्धता जनाउँदै थप समय मागेका थिए। सोही आधारमा बाँकी संरचना हटाउन सात दिनको अन्तिम समय दिइएको महानगरले जनाएको छ।

फिर्केखोलाको बहाव क्षेत्रमा पहिचान गरिएका कुल १६० संरचनामध्ये अझै ५८ वटा संरचना पूर्ण रूपमा हटाउन बाँकी रहेका छन्। बाँकीमध्ये २९ वटा संरचना सम्बन्धित घरधनीले आफैँ भत्काउन सुरु गरेका छन् भने २२ वटा संरचनामा हालसम्म कुनै काम नभएको महानगरको तथ्यांकमा उल्लेख छ।

हटाउन बाँकी संरचनामा २५ वटा स्थायी, २६ वटा अस्थायी संरचना तथा पाँचवटा कम्पाउन्ड वाल रहेका छन्। यसअघि ३३ वटा संरचना भने पूर्ण रूपमा हटाइसकिएको महानगरले जनाएको छ।

महानगरपालिकाले तोकिएको सात दिनको अवधिभित्र आफ्ना संरचना नहटाउने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कारबाही गर्दै महानगर आफैँले संरचना हटाउने चेतावनी दिएको छ। त्यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने सूचनामा उल्लेख छ।

फिर्केखोलालाई अतिक्रमणमुक्त बनाउँदै खोलाको प्राकृतिक बहाव कायम गर्ने तथा व्यवस्थित करिडोर निर्माण गर्ने महानगरको योजना छ। सोही योजनाअनुसार प्राविधिकसहित आवश्यक काम अगाडि बढाउने तयारी गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।

“तोकिएको मितिभित्र संरचना नहटाए महानगरले कानुनबमोजिम हटाउँछ र त्यसका लागि लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुलउपर गर्छ,” प्रमुख आचार्यले भने।

फिर्केखोलाको संरक्षण, अतिक्रमण नियन्त्रण र करिडोर निर्माणलाई पोखरा महानगरपालिकाले सहरी व्यवस्थापन तथा वातावरणीय सुधारसँग जोडेर अघि बढाएको छ। खोलाको बहाव क्षेत्र सुरक्षित राख्दै भविष्यमा बाढी तथा डुबानको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पनि खोलाघर खाली गराउने अभियानलाई महत्वपूर्ण रूपमा हेरिएको छ।