प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

-


     तुलसी राम सुवेदी    
     असाेज ५ गते २०८३ मा प्रकाशित


पोखरा, ५ असोज ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा हुने रकम बढ्दै गएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषमा रु. १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात रहेको छ। विभिन्न व्यक्ति, संघसंस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र अन्य दाताबाट प्राप्त सहयोगका कारण कोषमा ठूलो रकम जम्मा भएको कार्यालयले जनाएको छ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै रु. एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। उक्त रकम विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका लागि उपयोग गरिएको जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये विभिन्न नौ वटा वाणिज्य बैंकमा रु. ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ।

भोटेकोशी नदीमा आएको बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकको उद्धार र राहतका लागि पछिल्लो समय विभिन्न क्षेत्रबाट सहयोग घोषणा तथा रकम जम्मा हुने क्रम तीव्र बनेको छ। सरकारले विपद् प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन कोषको रकम परिचालन गर्दै आएको छ।

विपद्का बेला प्राप्त हुने आर्थिक सहयोगलाई पारदर्शी रूपमा व्यवस्थापन गर्दै वास्तविक प्रभावितसम्म राहत पु¥याउनु सरकारको प्रमुख दायित्वका रूपमा रहेको छ। कोषमा संकलित रकमको प्रभावकारी परिचालनसँगै प्रभावित क्षेत्रमा राहत, पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यक्रमलाई गति दिनुपर्ने आवश्यकता देखिएको छ।