देशभर मौसम बदली, गण्डकीसहित चार प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी

-


     केन्द्रीय आवाज    
     असाेज १० गते २०८३ मा प्रकाशित


१० असोज, शनिबार, पोखरा ।
मनसुनी वायुका साथै पश्चिमी वायुको प्रभावका कारण शनिबार देशभरको मौसम प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास केन्द्रित बलियो न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै गएको छ। उक्त प्रणाली आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहे पनि यसको प्रभावका कारण नेपालमा वर्षा र बदलीको अवस्था कायम रहने पूर्वानुमान गरिएको छ।

हाल देशभरका अधिकांश स्थानमा बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। त्यस्तै कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शनिबार दिउँसो देशभर अधिकांश स्थानमा अधिकांश समय बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

वर्षाको मात्रा केही स्थानमा अझ बढ्न सक्ने देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

शनिबार राति पनि मौसममा उल्लेख्य सुधार नआउने देखिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कोशी र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ।

रातिको समयमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

तराई क्षेत्रमा पनि वर्षाको प्रभाव कायमै रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा तथा बागमती प्रदेशका तराई भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि वर्षा हुन सक्नेछ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसममा आएको यो परिवर्तनसँगै भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, सडक तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायातमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।