
पोखरा, ९ जेठ ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको १८औँ साधारण सभा शनिबार पोखरामा गरिमामय वातावरणमा सम्पन्न भएको छ। साधारण सभासँगै आयोजित ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण समारोहले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्कीले मोफसलमा रहेर पत्रकारिता गर्ने सञ्चारकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूको पेशागत सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले राष्ट्रिय सञ्चारमाध्यममा मोफसलका पत्रकारहरूको पर्याप्त प्रतिनिधित्व र मूल्यांकन हुन नसकेको यथार्थ औंल्याउँदै पत्रकारमैत्री वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको बताए।
आगामी आर्थिक वर्ष २०८०/८४ को बजेट निर्माण प्रक्रिया प्रारम्भ भइसकेको सन्दर्भमा पत्रकारिता क्षेत्रका आवश्यकता र सुझावहरूलाई समेटिने प्रतिबद्धता जनाउँदै उनले पत्रकार समुदायसँग सहकार्यलाई अझ सुदृढ बनाइने धारणा राखे। प्रेस रजिस्ट्रार कार्यालय स्थापना मार्फत सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउने पहल जारी रहेको जानकारी पनि उनले दिए।
पत्रकारिताको मूल मूल्य र दायित्वबारे चर्चा गर्दै मन्त्री कार्कीले सत्य, तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषणको आवश्यकता औंल्याए। आवेग र उत्तेजनामा आधारित सूचनाले समाजलाई भ्रमित पार्ने खतरा औंल्याउँदै उनले जिम्मेवार, अनुसन्धानमुखी र विश्लेषणात्मक पत्रकारितामा जोड दिए। पत्रकारिता राज्यको ‘चौथो अंग’ भएको उल्लेख गर्दै उनले गहिरो अध्ययन र चिन्तनबिना गुणस्तरीय पत्रकारिता सम्भव नहुने बताए।
कार्यक्रममा महासंघका गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्वअध्यक्षहरू, प्रेस स्वतन्त्रता सेनानीहरू तथा विभिन्न सञ्चारकर्मीहरूले पत्रकारिताको मर्यादा, प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा तथा श्रमजीवी पत्रकारहरूको हकहित सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
साधारण सभामा सचिव भूपाल गुरुङद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजाराम पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल भएको थियो। सहभागी सदस्यहरूले पत्रकारिता क्षेत्रमा देखिएका चुनौती, प्रेस स्वतन्त्रताको अवस्था र श्रमजीवी पत्रकारका समस्याहरू समाधान गर्न महासंघ अझ सक्रिय र प्रभावकारी हुनुपर्ने सुझाव दिएका थिए।
सभाले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको आधारभूत शर्तका रूपमा पुनः पुष्टि गर्दै यसको संरक्षणमा दृढ प्रतिबद्धता व्यक्त गरेको छ। साथै, वर्तमान सरकारी विज्ञापन नीतिप्रति असन्तुष्टि जनाउँदै सरकारी विज्ञापनलाई सीमित सञ्चारमाध्यममा केन्द्रित गर्ने निर्णयले स्वतन्त्र प्रेस कमजोर पार्ने चेतावनी दिएको छ। महासंघले समानुपातिक र समावेशी विज्ञापन नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ।
सञ्चार क्षेत्रलाई थप समावेशी बनाउन महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम तथा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा सभाले जोड दिएको छ। बदलिँदो डिजिटल युग र कृत्रिम बौद्धिकता (एआई) को प्रभावसँगै पत्रकारितामा नयाँ अवसर र चुनौती थपिएको निष्कर्ष निकाल्दै प्रविधिमैत्री तथा तथ्यपरक पत्रकारिता विकासका लागि क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ।
पत्रकारहरूको आर्थिक तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक सुनिश्चितता तथा सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य बनाउन महासंघले आग्रह गरेको छ। साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यम आर्थिक संकटमा परेको उल्लेख गर्दै तिनको संरक्षणका लागि विशेष नीति ल्याउनुपर्ने माग पनि गरिएको छ।
मिडिया दर्ता तथा नवीकरण प्रक्रियालाई विकेन्द्रीकरण गर्दै प्रदेशस्तरमै सहज सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको सन्दर्भमा आवश्यक पूर्वाधार विकास तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि राज्यको ध्यानाकर्षण गराइएको छ। पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले दुवै क्षेत्रबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
पत्रकार लालप्रसाद शर्मा सम्मानित
साधारण सभाको अवसरमा ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन्। उक्त पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीमार्फत भण्डारी परिवारद्वारा स्थापित हो।
पर्वतको कुस्मा नगरपालिका–१३, खौलालाँकुरीमा वि.सं. २०३२ सालमा जन्मिएका शर्माले २०५४ सालदेखि पत्रकारिता यात्रा सुरु गरेका हुन्। उनले नारी सन्देश, आदर्श समाज, नेपाल समाचारपत्र, पोखरा हटलाइन, निष्पक्ष अभिमत र कान्तिपुर दैनिक हुँदै हाल ढोरपाटन दैनिकमा सह–सम्पादकका रूपमा कार्यरत छन्।
शर्मालाई प्रमुख अतिथि भीम कार्की, पुरस्कार स्थापनाकर्ता भण्डारी परिवार तथा महासंघका पदाधिकारीहरूले नगद २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरेका थिए।
सम्मानपछि उनले यसले आफूलाई अझ उत्तरदायी र प्रतिबद्ध पत्रकारितातर्फ अग्रसर गराएको प्रतिक्रिया दिए। साथै, पुरस्कार स्थापनाकर्ता परिवारले अक्षयकोषमा थप एक लाख रुपैयाँ योगदान गर्ने घोषणा समेत गरेको छ।




