
१३ चैत्र,वीरगन्ज,
पर्सा जिल्लाको वीरगन्जमा सामुहिक कुटपिटबाट एक प्रहरी जवानको बीभत्स हत्या गरिएको छ। कुटपिटबाट मारिनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर–९ मा घर भएका प्रहरी जवान विकास चौरसिया रहेको बताइएको छ। आइतबार अपरान्हतिर केही युवकहरूको समूहले प्रहरी जवान चौरासियालाई सामुहिक आक्रमण गरि निर्घात कुटपिट गरिरहेको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर गम्भीर घाइते रहेका चौरसियाको उद्धार गरेको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकहरूले मृत घोषणा गरिदिएका थिए।
घटना सार्वजनिक भएपछि पर्सा जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्न रहेको आरोपमा चारजना युवाहरूलाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार प्रहरीले घटनास्थलबाटै हत्यामा संलग्न रहेको आशंकामा चारजना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना भने प्रहरीले सार्बजनिक गरेको छैन तर पक्राउ पर्नेमा एकजना महिला समेत रहेको श्रोतले जनाएको छ। पर्सा प्रहरीले उनीहरूमाथि सूक्ष्म अनुसन्धान भैरहेको र घटनाको बास्तबिक कारण पत्ता लगाउन प्रयास भैरहेको जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो हत्याको पछाडि प्रेम सम्बन्ध मुख्य कारण हुन सक्ने देखिएको छ। मृतक प्रहरी जवानको कुनै एक महिलासँग प्रेम सम्बन्ध रहेको र सोही विषयलाई लिएर उत्पन्न विवादका कारण योजनाबद्ध रूपमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपि, घटनाको पूर्ण विवरण र हत्याको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।




