
पोखरा, २५ चैत।
पोखरा महानगरपालिका–११ स्थित ग्लोबल बालबाटिका मन्टेश्वरी प्रि–स्कुलको १०औँ दीक्षान्त समारोह गरिमामय वातावरणमा सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त समारोहले बालशिक्षाको महत्वलाई पुनः उजागर गर्दै साना नानीहरूको शैक्षिक यात्रामा नयाँ अध्यायको शुभारम्भ गराएको छ।
समारोहमा युकेजी तह उत्तीर्ण विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिनुका साथै स्थापना कालदेखि संस्थामा निरन्तर योगदान पुर्याउँदै आएका शिक्षक तथा कर्मचारीहरूलाई विशेष सम्मान अर्पण गरिएको थियो। दीक्षान्त समारोहले केवल शैक्षिक उपलब्धिको उत्सव मात्र नभई समर्पण, निरन्तरता र संस्थागत प्रतिबद्धताको कदर गर्ने अवसरसमेत प्रदान गरेको देखिएको थियो।
हिशानका केन्द्रीय उपाध्यक्ष तथा विद्यालयका संस्थापक अध्यक्ष बाबुराम पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रेश्वर कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने प्याब्सन कास्कीका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
प्रमुख अतिथि कोइरालाले आफ्नो मन्तव्यमा प्रारम्भिक बालशिक्षालाई व्यक्तित्व विकासको मूल आधारका रूपमा व्याख्या गर्दै ग्लोबल बालबाटिकाले मन्टेश्वरी शिक्षण पद्धतिमार्फत बालबालिकामा सिर्जनशीलता, व्यवहारिकता र जीवनोपयोगी सीप विकास गराउँदै आएको बताए। “यस किसिमको शैक्षिक अभ्यासले समृद्ध समाज निर्माणमा दीर्घकालीन योगदान पुर्याउँछ,” उनले उल्लेख गरे। उनले दीक्षित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै सम्मानित शिक्षक तथा कर्मचारीहरूको समर्पणप्रति उच्च सम्मान प्रकट गरे।
सभापति बाबुराम पन्तले विद्यालय स्थापना आकांक्षाभन्दा बढी सामाजिक आवश्यकता र समयको मागका आधारमा गरिएको स्पष्ट पार्दै गुणस्तरीय शिक्षा, अनुशासन र मूल्यमा आधारित शिक्षण पद्धतिमा विद्यालय सदैव प्रतिबद्ध रहेको बताए। “हाम्रो यात्राको आधार अभिभावकहरूको विश्वास र सहकार्य हो,” उनले भने, “यसैको बलमा संस्थाले निरन्तर प्रगति हासिल गर्दै आएको छ।” उनले ग्लोबल कलेजियटको भगिनी संस्थाका रूपमा बालबाटिकाले सामाजिक उत्तरदायित्व निर्वाहमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयकी प्रिन्सिपल बविता पालिखेले संस्थाको शैक्षिक यात्रा र उपलब्धिहरूको समग्र प्रस्तुति गर्दै अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूप्रति कृतज्ञता ज्ञापन गरिन्। उनले बालबालिकालाई “अपरिष्कृत सम्भावनाको प्रतीक” का रूपमा व्याख्या गर्दै उनीहरूको सर्वाङ्गीण विकासमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताइन्।
“प्रत्येक बालबालिकामा निहित विशिष्ट क्षमताको पहिचान र विकास गर्नु नै हाम्रो मूल ध्येय हो,” उनले भनिन्। उनले परिवारलाई पहिलो पाठशाला र अभिभावकलाई पहिलो गुरुका रूपमा उल्लेख गर्दै बालबालिकाको भावनात्मक, नैतिक र सामाजिक विकासमा अभिभावकको सक्रिय भूमिका अपरिहार्य हुने धारणा राखिन्।
समारोहका अवसरमा स्थापना कालदेखि संस्थामा निरन्तर सेवा पुर्याउँदै आएका ८ जना शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा शिक्षक अन्जु राई, रुकू पन्त र लालमाया गुरुङ रहेका छन् भने भान्से जमुना थापा, बाल सहयोगीहरू सीता रखाल क्षेत्री, देवी खाँड र हुममाया श्रेष्ठ तथा सुरक्षा गार्ड थमन थापालाई प्रशंसापत्र, दोसल्ला र करुवासहित सम्मान गरिएको थियो। विद्यालय प्रशासनले कठिन परिस्थितिमा समेत संस्थाप्रति अटुट निष्ठा र समर्पण देखाउने कर्मचारीहरूको योगदानलाई उच्च मूल्यांकन गरेको जनाएको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउँदै युकेजीका विद्यार्थीहरूले गीत, नृत्य तथा ‘अदृश्य भारी’ शीर्षकको सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए, जसले उपस्थित दर्शकहरूलाई भावनात्मक रूपमा स्पर्श गरेको थियो। दीक्षित विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूले प्रमाणपत्र प्रदान गरेका थिए।
समारोहमा ग्लोबल कलेजियट स्कुलका निर्देशक नन्दलाल त्रिपाठी, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, गणित शिक्षा परिषद् गण्डकीका अध्यक्ष वेदप्रसाद शर्मा, भाइस प्रिन्सिपल सुरक्षा श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अभिभावकका तर्फबाट डा. प्रविण त्रिपाठी र डा. सिर्जना शर्माले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षकद्वय बसन्ती बस्नेत र जेनिता राईले गरेका थिए।






