२२औँ राष्ट्रिय धान दिवस देशभर भव्य रूपमा मनाइयो

-


     तुलसी राम सुवेदी    
     असार १५ गते २०८२ मा प्रकाशित


असार १५, पोखरा
“हरियो डाँडा माथि हलो जोत्ने साथी हो हो तारे…”
नेपालका पहाडदेखि तराईसम्म आज देशभर असार १५ अर्थात् राष्ट्रिय धान दिवस विशेष उल्लासका साथ मनाइएको छ । ‘मानो रोपेर मुरी फलाउने’ परम्परागत भनाइसँगै यो दिन नेपाली कृषकहरूले खेतबारीमा हिलोमा रमाउँदै धान रोप्ने गर्छन । यही अवसरमा यस वर्षको २२औँ राष्ट्रिय धान दिवस देशभर विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।
राजधानीस्थित राष्ट्रपति भवन शीतल निवासमा पनि विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रथम महिला सबिता पौडेलले प्रतिकात्मक धान रोपाइँमा सहभागी भई दिवसको सुरुवात गर्नुभयो । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई केवल जीवन निर्वाहको माध्यममा सीमित नराखी व्यावसायिक र आधुनिक बनाउनु पर्नेमा जोड दिनुभयो। साथै, उहाँले कृषिका सबै पक्ष र श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउँदै, आफू प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको स्पष्ट पार्नुभया ।
कार्यक्रमपश्चात राष्ट्रपति तथा सहभागीहरूले परम्परागत रूपमा दही–चिउरा खाएर पर्वको सांस्कृतिक पक्षलाई पनि जोगाएका थिए। राष्ट्रपति पौडेलले कृषिमा आश्रित समुदायहरूलाई अन्नदाताको रूपमा उच्च सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो।
त्यसैगरी, पोखरामा पनि २०औँ रोपाइँ महोत्सव विशेष रौनकका साथ सम्पन्न भयो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा–२६ स्थित गुँदे ताल क्षेत्रको हराभरा खेतमा आयोजित उक्त महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटकहरूले रोपाइँ, हिलो छ्यापाछ्याप, हिले दौड, रस्साकस्सी तथा माछा समाउनेजस्ता खेलहरूमा सहभागी भई पर्वको आनन्द लिएका थिए।
“पर्यटन सबै मौसमका लागि” भन्ने नारासहित गरिएको महोत्सवले पोखरालाई वर्षभर पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गर्न सकिने सम्भावनाको संकेत दिएको आयोजकले बताएका छन्। महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले असार १५ लाई केवल कृषकको चाडका रूपमा नभई राष्ट्रिय गौरवको पर्वका रूपमा पनि स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार, यो महोत्सवले हराउँदै गएको कृषि प्रणालीको संरक्षण, कृषि पर्यटनको प्रवद्र्धन र खेतीयोग्य जमिनको संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
२०६१ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यो महोत्सवमा स्थानीय कृषकदेखि विदेशी पर्यटकसम्मको उत्साहपूर्ण सहभागिता रहँदै आएको छ, जसले नेपाली कृषिको सांस्कृतिक महत्त्व र पर्यटकीय सम्भावनालाई उजागर गरिरहेको छ।