पोखराको लेकसाइडमा बालिका राखेर यौन धन्दा सञ्चालन, तीन युवती पक्राउ

-


     केन्द्रीय आवाज    
     मंसिर ७ गते २०८१ मा प्रकाशित


२०८१ मंसिर ७ पोखरा
पोखराको लेकसाइडमा बालिकाहरुलाई जबरजस्ती यौनकार्यमा लगाउने तीन जना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पालुङ्टार नगरपालिका वडा नं ४ घर भई हाल पोखरा–६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षकी ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका वडा नं ८ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ–७ कपन बस्ने २३ वर्षकी रीना तामाङ र नवलपुरको मध्यबिन्धु नगरपालिका–१० स्थायी घर भई हाल पोखरा–६ लेकसाईड बस्ने १९ वर्षकी जस्मिन ठकुरी छन् ।
बिहीबार राति १० बजे पोखराको लेकसाइडस्थित होटल स्नोल्याण्डको भिसा युथ होटलको कोठाहरुमा राखेर चार बालिकाहरुलाई जबरजस्ती यौनकार्यमा लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले बालिकाहरुको उद्दार गरेको थियो ।
प्रहरीका अनुसार बालिकाहरुले ललाईफकाई राम्रो होटलमा काम लगाईदिन्छु, मासिक तलब राम्रो हुन्छ, खाना बस्नका राम्रो सुविधा छ भन्ने विश्वासमा पारी कोठा बाहिरसमेत निस्किन नदिई परपुरुष व्यक्तिसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याइएको बताएका थिए ।

त्यसपछि यौन कार्यक्रमा लगाउने ममता, रीना र जस्मिलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका तीन जनाबिरुद्ध मानव बेचविखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी मुद्दामा अदालतबाट पाँच दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।