
भदौ ११, पोखरा ।
रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १३४ जनाको शव गण्डकी प्रदेशका विभिन्न जिल्लामा भेटिएको छ। त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले बगाएर ल्याएका शवहरू बुधबार र बिहीबार गोर्खा, नवलपुर र तनहुँका विभिन्न स्थानमा फेला परेका हुन्।
नेपाल प्रहरीको तथ्यांकअनुसार नवलपुरमा ८२, गोर्खामा ३० र तनहुँमा २२ जनाको शव भेटिएको छ। नदी किनारमा धमाधम शव फेला पर्न थालेपछि स्थानीय स्तरमा व्यवस्थापन गर्न सकस भएको छ। सम्बन्धित जिल्लाहरूमा पर्याप्त शवगृह (शव राख्ने ठाउँ) र आवश्यक पूर्वाधारको अभाव भएपछि बिहीबार साँझ केही शवलाई पोखरा ल्याइएको छ।
हालसम्म गोर्खा र तनहुँमा भेटिएका २० वटा शव सुरक्षित व्यवस्थापनका लागि पोखरा ल्याइसकिएको छ। तनहुँमा भेटिएका अन्य शवहरूलाई तनहुँ जिल्ला अस्पताल, जिपी कोइराला मेमोरियल अस्पताल तथा छिमेकी जिल्ला चितवनका अस्पतालहरूमा राखिएको छ।
तटीय क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृतकसङ्ख्या थपिन सक्ने र व्यवस्थापनको चुनौती अझ तीव्र बन्ने देखिएको छ। यसैबीच, गोर्खा र नवलपुरमा बाँकी रहेका शवहरूलाई पनि आवश्यकतानुसार पोखरा ल्याउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
त्रिशूली नदी किनारमा भेटिएका शवहरूको पहिचान गर्न, सुरक्षित भण्डारण गर्न र आफन्तलाई बुझाउनका लागि कास्की जिल्ला प्रशासन कार्यालयले विशेष सक्रियता देखाएको छ। पोखरामा जतिसक्दो धेरै शव सुरक्षित रूपमा राख्न र व्यवस्थापन गर्न आवश्यक तयारी तीव्र पारिएको छ। बाढीबाट भएको मानवीय क्षति संकलन गर्दै मृतकको पहिचान खुलाउने र परिवारसम्म सूचना पुर्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।






