पोखराको लामाचौरमा २७औँ तायाःमचा नृत्य प्रतियोगिता हुने, श्रेष्ठ परिवारद्वारा १० लाख सहयोग

-


     केन्द्रीय आवाज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित


११ भदौ, पोखरा

नेवाः खलः कास्कीको आह्वान तथा लामाचौर नेवाः खलः गुठीको आयोजनामा आगामी भदौ २० गते शनिबार २७औँ शृङ्खलाको ‘तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव’ सञ्चालन हुने भएको छ। पोखरा–१६, लामाचौर चोकमा आयोजना हुने यस भव्य सांस्कृतिक कार्यक्रमबारे बिहीबार पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी गराइएको हो।

नेवार समुदायमा पितृमुक्ति र स्मृतिमा गाईजात्रा निकाल्ने परम्परा छ, जसको विशेष आकर्षण बाजागाजासहित प्रस्तुत गरिने मौलिक तायाःमचा नृत्य हो। यस वर्ष भदौ १३ गते गाईजात्रा परे पनि बजार परिक्रमाका कारण हुने ढिलाइलाई ध्यानमा राख्दै सर्वसाधारणको सहजताका लागि भदौ २० गते (शनिबार) प्रतियोगिता राखिएको हो। पोखराका विभिन्न स्थानमा हुँदै आएको यो प्रतियोगिता लामाचौरमा पहिलोपटक हुन लागेको हो।

प्रतियोगितामा खुलातर्फ प्रथम हुने टोलीले रु. १,११,१११, द्वितीयले रु. ७७,७७७, तृतीयले रु. ५५,५५५ र सान्त्वनाले रु. २५,५५५ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, महिलातर्फ क्रमश: रु. ४० हजार, ३० हजार, २५ हजार र २० हजार पुरस्कार निर्धारण गरिएको छ भने सहभागी प्रत्येक टोलीलाई रु. १५ हजार प्रोत्साहन भत्ता प्रदान गरिनेछ। यस वर्ष ३८ टोलीको सहभागिता रहने अनुमान छ।

प्रतियोगिताको अक्षयकोष तथा पुरस्कार व्यवस्थापनका लागि तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना स्वर्गीय मातापिता हेमप्रसाद श्रेष्ठ तथा बालकुमारी श्रेष्ठको स्मृतिमा रु. १० लाख सहयोग उपलब्ध गराउने भएका छन्।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, मूल संयोजक सुशीलकुमार श्रेष्ठ तथा गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले यो महोत्सवले नयाँ पुस्तामा सांस्कृतिक सीप हस्तान्तरण गर्न र मौलिक नेवारी संस्कृतिको संरक्षण तथा प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।