गीताञ्जली साहित्य परिवारले बाँड्यो सिर्जनाको सम्मान : रत्न पुरस्कारदेखि बालप्रतिभा प्रोत्साहनसम्म

-


     तुलसी राम सुवेदी    
     श्रावण २४ गते २०८३ मा प्रकाशित


श्रावण २४ गते, पोखरा ।

गीताञ्जली साहित्य परिवार पोखराले साहित्य सिर्जना, साधना र प्रतिभाको सम्मान गर्ने उद्देश्यसहित विभिन्न विधाका स्रष्टालाई पुरस्कृत तथा सम्मान गरेको छ। संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानलाई निरन्तरता दिँदै यस वर्ष वरिष्ठ साहित्यकार सरस्वती श्रेष्ठ ‘शरु’, साहित्यकार पार्वती भट्ट र बालप्रतिभा प्रमिला सुनारलाई सम्मान गरेको हो।
गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कारबाट वरिष्ठ साहित्यकार सरस्वती श्रेष्ठ ‘शरु’ सम्मानित हुनुभएको छ। उहाँलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको हो।


त्यसैगरी, रुक्मिणा नारायणदत्त ‘रुना’ साहित्य पुरस्कार मुक्तक विधामा योगदान पु¥याउँदै आउनुभएकी सुदूरपश्चिम डोटीकी तथा हाल काठमाडौं निवासी साहित्यकार पार्वती भट्टलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि पनि २५ हजार रुपैयाँ रहेको छ।


गीताञ्जली साहित्य रत्न पुरस्कार संस्थाद्वारा स्थापित तथा सञ्चालित पुरस्कार हो। यसअघि उक्त पुरस्कारबाट तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मी, कल्याण पन्तलगायतका स्रष्टा सम्मानित भइसकेका छन्।
रुक्मिणा नारायणदत्त ‘रुना’ साहित्य पुरस्कार भने गीताञ्जली साहित्य परिवार पोखराका संरक्षक तथा मुक्तकमणि तीर्थराज अधिकारीले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिँदै आएको हो। यस पुरस्कारबाट यसअघि रत्नशमशेर थापा, शंकर ज्ञवाली, लक्ष्मण थापा र असफल गौतम पुरस्कृत भइसकेका छन्।
साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा महत्वपूर्ण योगदान पु¥याउने स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले दुवै पुरस्कार स्थापना गरिएको संस्थाले जनाएको छ।


यसैगरी, नवोदित बाल साहित्यकार प्रमिला सुनारलाई तुलसी मुवा–अहिल्या बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ। उहाँलाई नगद एक हजार एक सय रुपैयाँसहित सम्मान गरिएको हो। उक्त पुरस्कारबाट यसअघि स्मृति ओझा, लक्ष्मण आचार्य, सिर्जन ज्ञवाली, दिपशिना पौडेल, प्रियदर्शन पहारी र इडिभा खतिवडालगायत बालप्रतिभा सम्मानित भइसकेका छन्।
बालप्रतिभालाई साहित्यिक सिर्जनातर्फ उत्प्रेरित गर्ने उद्देश्यले साहित्यकार तिलक पौडेल ‘स्यार्कोटेले तुलसी मुवा–अहिल्या बालप्रतिभा पुरस्कार स्थापना गर्नुभएको हो। पुरस्कारका लागि १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।

यस वर्ष थप गीताञ्जली बाल प्रोत्साहन पुरस्कारबाट बालप्रतिभा अन्वेशा ज्ञवालीलाई समेत सम्मान गरिएको छ।
पुरस्कारका लागि प्रतिभा छनोट गर्न साहित्यकार असफल गौतमको संयोजकत्वमा प्रतिभा छनोट उपसमिति गठन गरिएको थियो। समितिका सदस्यमा साहित्यकार लक्ष्मी थापा, अक्षयकोषदाता तथा मुक्तकमणि तीर्थराज अधिकारी र संस्थाका अध्यक्ष भानु भण्डारी ‘क्षितिज’ रहनुभएको थियो।
गीतामन्दिर परिसर, रामघाट, पोखरास्थित सभाहलमा आयोजित समारोहमा संस्थाका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा. कृष्ण भण्डारी ‘मुमुक्ष’को प्रमुख आतिथ्यतामा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक साहित्यकार असफल गौतमले पुरस्कारका लागि प्रतिभा छनोट गरिएको प्रक्रिया र आधारबारे समीक्षा प्रस्तुत गर्नुभएको थियो।
समारोहमा संस्थाका संरक्षक तथा अक्षयकोषदाता मुक्तकमणि तीर्थराज अधिकारी, सम्मानित साहित्यकार सरस्वती श्रेष्ठ ‘शरु’ र पार्वती भट्ट, निर्वाचन संयोजक कल्याण पन्त तथा विशेष अतिथिहरू माधव वियोगी, डा. प्रेमकुमार उलक र पत्रकार भरत कोइरालालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा बाल प्रोत्साहन पुरस्कारबाट सम्मानित बालप्रतिभा प्रमिला सुनार र अन्वेशा ज्ञवालीले आफ्ना साहित्यिक रचना प्रस्तुत गरेका थिए।
यसै अवसरमा विभिन्न विधा तथा संस्थाको विकासमा विशेष योगदान पु¥याउनुभएका संस्थापक अध्यक्ष डा. कृष्ण भण्डारी ‘मुमुक्ष’ र पूर्वअध्यक्ष शिवप्रसाद गौतमलाई आजीवन संरक्षकसहित सम्मान गरिएको थियो। त्यस्तै, यस वर्षका उत्कृष्ट गीताञ्जली स्रष्टाका रूपमा साहित्यकार विष्णुप्रसाद पराजुली र गोविन्दप्रसाद पराजुलीलाई सम्मान गरिएको छ।
कार्यक्रम संस्थाको २०औँ साधारण सभा तथा १०औँ अधिवेशनका अवसरमा समेत आयोजना गरिएको थियो। सो अवसरमा संस्थाका सचिव नरेन्द्र रानाभाटले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बसन्त चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।


संस्थाका अध्यक्ष भानु भण्डारी ‘क्षितिज’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र रानाभाटले गर्नुभएको थियो।
समारोहकै अवसरमा अक्षयकोषदाता मुक्तकमणि तीर्थराज अधिकारीले रुक्मिणा नारायणदत्त ‘रुना’ साहित्य पुरस्कारको अक्षयकोषमा थप एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै नगद नै हस्तान्तरण गर्नुभएको थियो । उहाँको यस योगदानले पुरस्कारको निरन्तरता र साहित्यिक प्रतिभा प्रोत्साहनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।