पोखराको फोहोरमैदानमा तीन शंकास्पद ग्रिनेड फेला ः लापरवाहीबीच स्थानीय त्रसित, सेनाद्वारा अनुसन्धानका लागि सुरक्षित रूपमा उठाइयो

-


     केन्द्रीय आवाज    
     जेठ २१ गते २०८३ मा प्रकाशित


२१ जेठ २०८३ । पोखरा
पोखराको अस्थायी फोहोर व्यवस्थापन स्थलमा शंकास्पद विष्फोटक पदार्थ फेला परेपछि क्षेत्र केही समय तनावग्रस्त बनेको छ। पोखरा महानगरपालिका–२१ स्थित फोहोर फाल्ने ठाउँमा बिहीबार बिहान तीन वटा बेवारिसे ग्रिनेड भेटिएपछि स्थानीयबासी त्रसित बनेका हुन्।
पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएको फोहोर झार्ने क्रममा कवाडी सामग्री खोज्दै गरेकी रिमा शेर्पाले उक्त शंकास्पद वस्तु भेट्टाएकी थिइन्। प्रारम्भिक जानकारीअनुसार तीमध्ये दुई वटा घातक प्रकृतिका ‘स्टन ग्रिनेड’ र एउटा कम घातक ‘स्मोक ग्रिनेड’ रहेको प्रहरी स्रोतले जनाएको छ।


घटनाबारे जानकारी पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली तत्काल घटनास्थलमा पुगेको थियो। सेनाले ती सामग्रीलाई निस्क्रिय नगरी अनुसन्धानका लागि सुरक्षित रूपमा उठाएर लगेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार, “हामीले त्यसलाई प्रत्यक्ष रूपमा बम नभनी शंकास्पद वस्तुका रूपमा लिएका छौं, तर सेनाको प्रारम्भिक मूल्याङ्कनले ती ग्रिनेड हुनसक्ने देखाएको छ।”
प्रहरीका अनुसार भेटिएका ग्रिनेडमध्ये एउटा ग्रिनेडको नटसमेत खोलिएको अवस्थामा रहेको थियो भने अन्य दुई वटा पिनसहित सुरक्षित अवस्थामा थिए। यसले थप जोखिमको सम्भावना औंल्याएपछि सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका थिए।
घटनापछि दिनभरि उक्त क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। रानीपौवास्थित नेपाली सेनाको पृतनाबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि विजयपुर ब्यारेकबाट आएको अर्को टोलीले सामग्री सुरक्षित रूपमा उठाएर लगेको हो।
हालै मात्र अस्थायी रूपमा फोहोर फाल्न प्रयोगमा ल्याइएको उक्त स्थानमा यसरी विष्फोटक सामग्री फेला परेपछि स्थानीयवासीहरूमा त्रास फैलिएको थियो। पोखरा–२१ की कार्यवाहक वडाध्यक्ष विमला केसीका अनुसार, रातोपैह्रा, हनुमानटोल, पर्वतीय संग्रहालय आसपासका क्षेत्रबाट संकलन गरिएको फोहोरमा उक्त सामग्री आएको हुनसक्ने अनुमान गरिएको छ।

बम फेला पार्ने शेर्पाले पनि आफूले सुरुमा फलाम ठानेर बिक्रीका लागि पठाएको स्वीकार गरेकी छन्। “झोला निकै गह्रौं थियो, खोल्दा प्लाष्टिकभित्र फलामजस्तो देखियो, त्यसैले पठाएकी थिएँ,” उनले भनिन्।
घटनाले फोहोर व्यवस्थापन प्रणाली, सुरक्षा सतर्कता र संवेदनशील वस्तुको पहिचानबारे गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।