
पोखरा, १९ असार
पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका ३५ वर्षमुनिका ६ जना युवालाई ‘पोखरा महानगर युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै सम्मान गरेको छ।
बिहीबार आयोजित विशेष समारोहमा पत्रकार दुर्गा राना मगर, सामाजिक अभियन्ता सन्ध्या सुवेदी, खेलाडी नारायणी भण्डारी, समाजसेवी सुदीश पुन, युवा उद्यमी प्रतीकराज पहारी र नवज्योति सुवेदीलाई जनही ३० हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो।
पुरस्कार वितरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मानित युवाहरूले आ–आफ्नो क्षेत्रमा पु¥याएको योगदानले पोखराको प्रतिष्ठा उचो बनाएको मात्र नभई अन्य युवालाई पनि नेपालमै रहेर केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको बताए। उनले युवाको क्षमता, सिर्जनशीलता र समर्पणलाई प्रोत्साहन गर्न महानगरले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सम्मानितमध्ये सन्ध्या सुवेदीले शारीरिक चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन्। पत्रकारिता क्षेत्रमा सक्रिय दुर्गा राना मगर, खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी नारायणी भण्डारी, सामाजिक सेवामा सक्रिय सुदीश पुन, पर्यटन तथा उद्यमशीलतामा योगदान पु¥याएका प्रतीकराज पहारी तथा आफ्ना क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका नवज्योति सुवेदीलाई योगदानका आधारमा छनोट गरिएको महानगरले जनाएको छ।
महानगर युवा परिषद्का अध्यक्ष सन्तोष न्यौपानेले समाजमा सकारात्मक परिवर्तनका लागि समर्पित युवाको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए। उनले यस्ता पुरस्कारले युवामा थप ऊर्जा, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
युवा प्रतिभा छनोटका लागि परिषद्ले डा. भीमनाथ बरालको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो। समितिमा खेलकुदकर्मी तेज गुरुङ, उद्यमी विक्रम कर्माचार्य, अपाङ्गता अधिकारकर्मी अञ्जना केसी तथा पत्रकार केशवशरण लामिछाने सदस्य रहेका थिए। समितिले विभिन्न क्षेत्रका युवाको योगदान, प्रभाव र उपलब्धिको मूल्याङ्कनपछि पुरस्कारका लागि छनोट गरेको जनाएको छ।






