आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा रात्रिकालीन सवारी सञ्चालन बन्द

-


     केन्द्रीय आवाज    
     असार १६ गते २०८३ मा प्रकाशित


पोखरा, असार १६

मनसुन सक्रिय भएसँगै पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेको भन्दै लमजुङमा आजदेखि बेँसीसहर–चामे सडक र पुष्पलाल मध्यपहाडी लोकमार्गको एक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला सुरक्षा समिति लमजुङको सोमबार बसेको बैठकले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले असार मसान्तसम्म अत्यावश्यक सेवाबाहेक अन्य सबै सवारीसाधनलाई रातिको समयमा सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि मनाङ जिल्लाको सीमानासम्म प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ। त्यसैगरी पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजार–भोर्लेटार सडकखण्डको बीमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

उनका अनुसार एम्बुलेन्स, सुरक्षा निकाय, उद्धार तथा अन्य अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन भने सञ्चालन गर्न दिइनेछ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक गरेको निर्णयमा मनसुनको समयमा अत्यधिक वर्षा, पहिरो र सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। प्रशासनले यस निर्णयबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति क्षमायाचनासमेत गरेको छ।

मौसम पूर्वानुमानअनुसार आजदेखि लगातार भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी रात्रिकालीन यात्रामा जोखिम उच्च हुने देखिएको प्रशासनको भनाइ छ। वर्षायाममा पहिरो खस्ने, सडक भासिने तथा आकस्मिक दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पूर्वसावधानीका रूपमा यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए।

बेँसीसहरदेखि मनाङको सीमानास्थित म्यार्दी खोलासम्म करिब ३५ किलोमिटर तथा चामेसम्म करिब ६५ किलोमिटर दूरी रहेको छ। लमजुङ र मनाङ जोड्ने एकमात्र सडकका रूपमा रहेको यो सडकखण्ड बर्खायाममा पटक–पटक पहिरोका कारण अवरुद्ध हुने गरेको छ। सडक लामो समय बन्द हुँदा मनाङका स्थानीयले हेलिकोप्टरमार्फत आवतजावत गर्नुपर्ने अवस्था समेत दोहोरिने गरेको छ।

यस्तै, राइनास नगरपालिकादेखि मध्यनेपाल नगरपालिका हुँदै कास्की जिल्लाको सीमासम्म फैलिएको मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड करिब ४८ किलोमिटर लामो छ। यसमध्ये मध्यनेपाल नगरपालिका–१० स्थित बीमिरे भञ्ज्याङ क्षेत्रमा बर्सेनि पहिरो जाने र सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ। उक्त सडक मनाङ र लमजुङका बासिन्दाले विशेषगरी पोखरा आवतजावतका लागि प्रयोग गर्ने प्रमुख मार्ग हो।