‘ग्रिन पोखरा’ अभियान तीव्रः एकैदिन ६ हजार बिरुवा रोपियो, २ लाख २६ हजार रोप्ने लक्ष्य

-


     केन्द्रीय आवाज    
     जेठ २२ गते २०८३ मा प्रकाशित


पोखरा, २२ जेठ २०८३ (शुक्रबार)
विश्व वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिकाले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानलाई तीव्रता दिएको छ। अभियान अन्तर्गत शुक्रबार एकै दिन महानगरका विभिन्न क्षेत्रमा ६ हजारभन्दा बढी बिरुवा रोपिएको जनाइएको छ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा फलफूल तथा फूलका बिरुवा रोपेर अभियानको औपचारिक सुरुवात गरेका हुन्। उनले पोखरालाई स्वच्छ, हरित र वातावरणमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यले मेगा वृक्षारोपण अभियान सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार महानगर क्षेत्रभित्रका ७ सय किलोमिटर सडक तथा राजमार्ग, ६७ किलोमिटर नदी तथा खोला किनार र २९ वटा सार्वजनिक स्थलका करिब १ सय २५ हेक्टर खुला क्षेत्रमा कुल २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ।

वन विज्ञान अध्ययन संस्थान तथा वातावरणविद्हरूको सुझावका आधारमा ३८ प्रजातिका बिरुवा छनोट गरिएको छ। रोपिने बिरुवामा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, गुलमोहर, धुपी, बाँस, सिसौ लगायतका प्रजाति समावेश छन्। साथै जंगली केरा, रुद्राक्ष, कदम, बेल जस्ता धार्मिक तथा फलफूलजन्य बिरुवाहरू पनि रोपिने छन्।

कार्यक्रममा प्रमुख आचार्यले ‘ग्रिन पोखरा’ अभियान सफल बनाउन सबै नगरवासीलाई आ-आफ्नो घर तथा पसल अगाडि रोपिएका बिरुवाको संरक्षण र हेरचाह गर्न आग्रह गरे। उनले वातावरणीय स्वच्छता कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।

त्यस्तै, महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले अभियान सफल बनाउन नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। प्रत्येक नागरिकले आफ्नै क्षेत्रका बिरुवाको संरक्षणमा जिम्मेवारी बहन गरे मात्र महानगरको लक्ष्य पूरा हुने उनले स्पष्ट पारे।

महानगरपालिकाले दीर्घकालीन रूपमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने लक्ष्यसहित यो अभियानलाई निरन्तरता दिने जनाएको छ।