हेमजामा मानवसेवा आश्रम भवन निर्माणको लागि महायज्ञ हुँदै,

-


     केन्द्रीय आवाज    
     वैशाख १७ गते २०८३ मा प्रकाशित


१७ बैशाख २०८३, पोखरा,
मानवसेवा आश्रम कास्की हेमजा शाखाको मुल भवनलाई पूर्णता दिन तथा सेवा विस्तारको लागि श्रीमद्भागवत् सप्ताह, पितृउद्वार ज्ञानविज्ञान महायज्ञ २०८३ गर्न लागिएको छ । लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्न गर्न, आश्रमको अक्षयकोष वृद्धि गरी दीगो सेवा सुनिश्चित गर्ने उद्देश्यले यही वैशाख १९ देखि २६ गतेसम्म महायज्ञ गर्न लागिएको हो । २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको आश्रमले २३ जिल्लामा ३४ वटा सेवा केन्द्र सञ्चालन गरेको छ । राष्ट्रव्यापी रुपमा सेवा आश्रम चलाएर २ हजार १ सयभन्दा बढी सहयोगापेक्षी व्यक्तिलाई संरक्षण दिएको आश्रमको पोखरा सेवा केन्द्रबाट ३ सय आश्रितलाई सेवा प्रदान गरिएको छ ।
आश्रमका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार रामजी अधिकारीले पोखरा – २५ हेमजाको बाबियातरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी क्षेत्रफलको मुल भवन निर्माण सक्नका लागि महापुराण गर्न लागको जानकारी दिए । मुल भवन निर्माणका लागि करिब ८ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिँदै उनले गुरु योजना अनुसार भवनलाई पूर्णता दिन थप ४ करोड लाग्ने बताए । लक्ष्मी नारायण मन्दिर निर्माणका लागि करिब ३ करोड खर्च भएको उल्लेख गर्दै उनले मन्दिरका लागि थप २ करोड आवश्यक पर्ने जनाए ।
उनले अर्थ संकलनलाई मात्र केन्द्रीत नभएर महायज्ञ मानवता प्रबर्द्दनलाई ध्यान दिने बताए । उनले महायज्ञमा मानवता, परोपकारी असल चरित्र, दया करुणालाई केन्द्रविन्दुमा राख्ने उल्लेख गरे । ‘महायज्ञबाट संकलित रकममार्फत कास्की शाखाको निर्माणाधीन भवन २०८३ असोज मसान्तभित्र पूर्णता दिएर करिब ३ सय सहयोगापेक्षी नागरिकलाई गृह प्रवेश गराउने योजना छ,’ उनले भने, आश्रमका लागि कुनै प्रकारको विपत्ति, भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्ने गरी कम्तीमा १० करोड बराबरको अक्षयकोष स्थापना गर्नु आवश्यक छ ।
उनले हेमजा र छोरेपाटनमा अहिले ३ सय जना आश्रितको व्यवस्थापनको लागि मासिक ४० लाख रुपैयाँ खर्च लाग्ने जनाए । देशव्यापी रुपमा अहिलेसम्म १३ वडा महायज्ञ लगाएको जानकारी दिँदै उनले अब १४ औ पटक महायज्ञ गर्न लागेको बताए । उनले पण्डित कमलनयन गौतमले सुरुवातदेखि गुरु दक्षिणा नलिएर कथावाचन गरेको उल्लेख गरे । परोपकारी तथा मानवीय संस्था आश्रमले सन २०८३ सम्ममा सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल निर्माणको संकल्प अगाडि सारेको बताए ।
महायज्ञ मुल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले महायज्ञलाई सफल बनाउन सबै क्षेत्रको साथ सहयोग रहेको जनाए । अक्षयकोष सुदृढ गर्दै दीर्घकालीन सेवा व्यवस्थापन गर्ने जानकारी दिदै उनले निर्माणाधीन लक्ष्मीनारायण मन्दिरको निर्माण सम्पन्न गरी प्राण प्रतिष्ठा गरी नियमित पूजा सञ्चालन गर्ने उल्लेख गरे । महायज्ञको उद्घाटन समारोह अगाडि बाजागाजा, सांस्कृतिक झाँकीसहितको शोभा कलश यात्रा निकालिने कार्यक्रम छ ।
वैशाख २० देखि २६ गतेसम्म दैनिक योग विज्ञान शिविर, विद्यार्थी लक्षित प्रेरणात्मक कार्यक्रम, सत्संग, भजन चुड्का प्रतियोगिता, भागवत कथा वाचन सञ्चालन हुने सहसंयोजक धर्मराज बास्तोलाले बताए । महायज्ञ अवधिभर भजन–कीर्तन, सांगीतिक प्रस्तुति, धार्मिक अनुष्ठान तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने सहसंयोजन सुष्मा पौडेलले जानकारी दिइन् ।
सन २०८३ सम्ममा देशभरीका सडकका वेवारिसे व्यक्तिहरुको व्यवस्थापन गर्ने योजना अगाडि सारेका आश्रमले परिवारबाट तिरस्कृत भएर सडकमा वेवारिसे भएका व्यक्तिहरु उपचार र पुनस्थापनको लागि ध्यान दिएको छ । सडकमा वेवारिसे व्यक्ति रहन नदिने परिकल्पनालाई गण्डकी प्रदेश सरकारको साथ पाएको आश्रमले सडक पेटीमा जीवन यापन गर्दै आएका अनाथ, अपांग र मानसिक समस्याका विरामीहरुलाई उद्धार, उपचार, पालनपोषण र परिवारमा पुनर्मिलन सेवा गर्दै आएको छ ।