वैशाख दोस्रो सातादेखि पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

-


     केन्द्रीय आवाज    
     चैत्र २५ गते २०८२ मा प्रकाशित


पोखरा, चैत २५ः
पर्यटन नगरी पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। लामो समयदेखि महिला फुटबलका ठूला प्रतियोगिताको अभाव झेल्दै आएको पोखराका लागि यो पहल महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
महिला फुटबलको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आरएस पोखरा फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको छ र आगामी वैशाख दोस्रो सातादेखि प्रतियोगिता सुरु गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगितामा ए डिभिजन क्लबहरूसँगै मोफसलका विभिन्न टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ। आरएस पोखरा फुटबल क्लबका अध्यक्ष रमेश कार्कीले पोखरामा महिला फुटबल गतिविधि न्यून रहेको अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पारे।
उनले भने, “वर्तमान अवस्थामा नेपाली फुटबललाई महिला फुटबलले नै जीवन्त बनाएको छ। राष्ट्रिय महिला टोलीको उल्लेखनीय प्रदर्शनले देशभर आशा र उत्साह थपेको छ। तर, पोखरामा महिला स्तरका ठूला प्रतियोगिता नहुनु दुःखद पक्ष हो। यही कमी पूर्ति गर्न र महिला खेलाडीको विकासमा योगदान पुर्‍याउने उद्देश्यले क्लब स्थापना गरिएको हो।”
उनका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। साथै, दीर्घकालीन खेल विकासलाई टेवा पुर्‍याउने उद्देश्यले फुटबल एकेडेमी स्थापना गर्ने योजना समेत अघि सारिएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। तयारी कार्य सुरु भइसकेको जनाउँदै आयोजकले सरोकारवाला निकाय तथा खेलप्रेमीहरूलाई सहयोगका लागि आह्वान गरेको छ।
उल्लेखनीय छ कि आरएस पोखरा फुटबल क्लबले पछिल्लो समय देशभर आयोजना हुने महिला फुटबल प्रतियोगिताहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ, जसले क्लबको प्रतिबद्धता र सक्रियतालाई झल्काउँछ।