प्रेस चौतारी कास्कीले दुई पत्रकारलाई ग¥यो सम्मान तथा पुरस्कार प्रदान

-


     केन्द्रीय आवाज    
     माघ २३ गते २०८२ मा प्रकाशित


पोखरा, २२ माघ
प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८औँ स्थापना दिवसको अवसरमा दुई जना वरिष्ठ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
बिहीबार पोखरामा आयोजित विशेष समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सचिव खगराज अधिकारीले सम्मानपत्र, दोसल्ला तथा नगदसहित दुवै पत्रकारलाई सम्मानित गरे। पुरस्कारस्वरूप लम्साललाई सम्मानपत्रसहित २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिएको थियो।
सम्मान ग्रहणपछि बोल्दै विष्णुप्रसाद सापकोटाले संगठनले दुई दशकभन्दा लामो आफ्नो पत्रकारिता यात्राको मूल्यांकन गरेकोमा खुसी व्यक्त गर्दै यस सम्मानले संगठनप्रतिको जिम्मेवारी अझ बढाएको बताए।
त्यसैगरी, पुरस्कृत पत्रकार रामजीप्रसाद लम्सालले अनेक चुनौती र संघर्षबीच निरन्तर गरेको पत्रकारिताको मूल्यांकन भएकोमा आभार व्यक्त गरे। विगतमा प्राप्त पुरस्कार, पुस्तक विमोचन तथा हालको सम्मानसमेत एमाले नेता खगराज अधिकारीकै हातबाट प्राप्त भएको संयोग रहेको उनले उल्लेख गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले देशको रक्षा, लोकतन्त्रको संरक्षण र सुशासनका लागि पत्रकारको कलम र आवाज कहिल्यै कमजोर हुनु नहुने बताए। सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले सम्पूर्ण राजनीतिक दल र जनता एकताबद्ध भई राष्ट्र विकासमा अघि बढ्नुपर्नेमा जोड दिए।
समारोहमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल तथा प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
चौतारीले सम्मानित तथा पुरस्कृत व्यक्तित्व छनोट गर्न पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको थियो। समितिमा खेम सारु र दीपेन्द्र श्रेष्ठ सदस्य तथा संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य रहेका थिए।
हाल पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडागाउँ निवासी लम्साल विगत २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्। उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिक बाट पत्रकारिता सुरु गरेका थिए। हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही र जनता टेलिभिजनमा काम गरेको अनुभव भएका लम्साल हाल पोखरा एक्सप्रेस डटकम मार्फत सक्रिय छन्। वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका उनी रसियाली भाषा, उद्घोषण, भाषण कला तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षकसमेत हुन्। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले उनलाई २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरेको थियो।
विष्णुप्रसाद सापकोटा मादी गाउँपालिका–४, तारकाङ (साविक थुमाको डाँडा गाविस–७) का स्थायी बासिन्दा हुन्। २०५८ सालदेखि पत्रकारितामा सक्रिय उनी हाल आदर्श समाज राष्ट्रिय दैनिक मा आबद्ध छन्। सञ्चारमाध्यमको व्यवस्थापकीय क्षेत्रमा विशेष सक्रिय सापकोटा प्रेस चौतारी कास्कीका पूर्वकोषाध्यक्ष (२०६५–२०६७) हुन्। उनलाई २०७२ सालमा आदर्श समाज दैनिकको उत्कृष्ट कर्मचारी घोषित गरिएको थियो भने चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० सालमा सम्मान गरेको थियो।
प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरुङ, मीना गुरुङ र गणेशमान गुरुङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ।
त्यसैगरी, प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेलसहित माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन्।