
२०८२ मंसिर १९, पोखरा
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस तथा विश्व माटो दिवस विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा सदस्य राष्ट्रहरूले मनाउँदै आएका छन्।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सन् १९८५ देखि मनाउन थालिएको हो। सोही वर्ष संयुक्त राष्ट्रसंघीय महासभाले डिसेम्बर ५ लाई स्वयंसेवकहरूको योगदानको सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको थियो। यस दिवसले स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म स्वयंसेवाको भावना, सेवा संस्कृतिको विस्तार र विकास रणनीतिमा स्वयंसेवालाई समावेश गर्ने उद्देश्य बोकेको छ।
यसै अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभा हलमा सदस्य राष्ट्रहरूले विकास नीतिमा स्वयंसेवाको भूमिका अझ मजबुत बनाउन प्रतिबद्धता जनाउने अपेक्षा गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। महासचिव एण्टोनियो गुटेरेसले एक सन्देश जारी गर्दै विश्वभरका स्वयंसेवकप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनका अनुसार प्राकृतिक विपद्मा उद्धारकार्य, द्वन्द्वपीडित समुदायलाई सहयोग, गरिबी निवारण तथा सामाजिक रूपान्तरणजस्ता चुनौतीपूर्ण क्षेत्रमा समर्पित रूपमा खटिने स्वयंसेवकहरूको त्याग, साहस र मानवता अहिलेको विश्वका लागि प्रेरणादायी बनेको छ।
संयुक्त राष्ट्रसंघका १६९ सदस्य देशमा स्वयंसेवकहरूले शान्ति, न्याय र समानता प्रवद्र्धनका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
यससँगै विश्व माटो दिवस पनि आजै विश्वभर मनाइँदैछ। स्वस्थ माटोको महत्वबारे जनचेतना बढाउने तथा माटोको दिगो व्यवस्थापनका लागि समाजलाई सक्रिय बनाउने उद्देश्यसहित राष्ट्रसंघले सन् २०१३ मा यो दिवस मनाउन थालेको हो। कृषि उत्पादन, वातावरणीय सन्तुलन र मानव अस्तित्वमा माटोको भूमिकालाई ध्यानमा राख्दै दिगो कृषि, माटो संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणबारे छलफल र अभियान आजका कार्यक्रमहरूको मुख्य विषय रहनेछन्।
संयुक्त राष्ट्रसंघका अनुसार माटो संरक्षण र दिगोपनलाई वैश्विक प्राथमिकता बनाउनु नै विश्व माटो दिवसको प्रमुख लक्ष्य हो। कृषक, वैज्ञानिक, नीति निर्माता र सर्वसाधारण सबैलाई माटोका विषयमा सचेत र सक्रिय बनाउँदै पृथ्वीको भविष्य सुरक्षित राख्न यो दिवसले विश्व समुदायलाई निरन्तर स्मरण गराउँदै आएको छ।






