भाद्र शुक्ल पञ्चमी ः ऋषिपञ्चमी पर्व धुमधामसहित मनाइँयो

-


     केन्द्रीय आवाज    
     भाद्र १२ गते २०८२ मा प्रकाशित


२०८२ भदौ १२, पोखरा
आज भाद्र शुक्ल पञ्चमीका दिन नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व श्रद्धा र भक्ति साथ मनाए । बिहानै नजिकको नदी, खोला, ताल वा पोखरीमा गई महिलाहरूले ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने परम्परा रहिआएको छ ।
धार्मिक विश्वासअनुसार रजस्वलाका दिन कुनै त्रुटि भए पनि यस दिन सप्तऋषिको पूजा गर्नाले त्यस्ता दोषबाट मुक्ति पाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार पञ्चगव्य सेवनसहितको स्नान र पूजा–आराधनाले स्त्रीलाई शारीरिक तथा आध्यात्मिक शुद्धि प्राप्त हुन्छ।
यस दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने परम्परा छ। सप्तऋषिको पूजा हुने भएकै कारण यसलाई ऋषिपञ्चमी भनिएको हो।
ऋषिपञ्चमीसँग सम्बन्धित एक किंवदन्ती पनि प्रचलित छ। प्राचीन समयमा इन्द्रले विश्वरुपको हत्या गर्दा ब्रह्महत्या पापको बोझ उनले भोग्नुप¥यो। त्यस पापको अंश पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको धार्मिक मान्यता छ। त्यसैबाट उषरभूमि, वृक्षको खोटो, पानीको फिँज र स्त्रीमा रज देखा परेको विश्वास गरिन्छ।
यसै कारण महिलाले आजको दिन स्नान, व्रत र सप्तऋषिको पूजा गरी रोगव्याधिबाट मुक्त हुने तथा पापमोचन हुने विश्वास गर्दछन्। व्रतविधिअनुसार पूजापछि सामा, कागुनो, कन्दमूल र कर्कला आदि सेवन गरी बस्ने प्रचलन रहेको छ ।