
२३ साउन, पोखरा ।
होटल संघ नेपाल गण्डकीले पर्यटकलाई अल्पसमयमै होचो उचाइबाट अग्ला हिमाली गन्तव्यमा पु¥याउने जोखिमपूर्ण यात्राबाट बच्न र बचाउन सरोकारवालाहरूलाई अपिल गरेको छ।
संघले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै, विशेषगरी तराई र सिमावर्ती क्षेत्रबाट एकैदिनमा अन्नपूर्ण क्षेत्रका उच्च भागसम्म पुग्ने प्रवृत्तिका कारण पर्यटकमा लेक लाग्ने, शरीरको तापक्रम नमिल्ने जस्ता स्वास्थ्य समस्याहरू देखिने खतरा रहेको जनाएको छ।
संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ– “पर्यटकले क्रमशः उचाइ समायोजन (एक्ल्मेटाइजेसन) गर्दै यात्रा गर्ने वातावरण सिर्जना गर्न ट्राभल एजेन्सी, टुर अपरेटर र सम्बन्धित निकायहरुले जिम्मेवार भूमिका खेल्न जरुरी छ।”
संघले निजी सवारीमा सानो समूह बनाएर यात्रा गर्ने पर्यटकहरूलाई समेत यस प्रकारको हतारो र जोखिमपूर्ण यात्रा नगर्न सुझाव दिएको छ। विज्ञप्तिमा थप भनिएको छ, “यस्ता प्रवृत्तिलाई न्यूनीकरण गर्न सरकारी तहबाट पनि आवश्यक पहल सुरु गर्न आग्रह गर्दछौं। यसले पर्यटकको सुरक्षासँगै पोखरामा बसाइ अवधि लम्ब्याउन सहयोग पुग्नेछ।”
पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न गन्तव्यतर्फ गइरहेका छन्। संघले पर्यटनसँग सम्बन्धित स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै पछिल्लो समय पोखराबाट मुक्तिनाथ पुगेर सोही दिन फर्कने पर्यटकको संख्या बढ्दै गएको विषयप्रति चासो व्यक्त गरेको छ।
तराई क्षेत्रको समुद्री सतहबाट करिब १०० मिटर उचाइबाट सुरु भई, सोही दिन ८०० मिटरको पोखरा हुँदै ३७१० मिटरको मुक्तिनाथसम्मको यात्रा अत्यन्तै जोखिमपूर्ण हुने विज्ञहरूको भनाइ उद्धृत गर्दै संघले यस्तो अभ्यास तत्काल रोक्नुपर्ने बताएको हो।
बर्खा याममा रातको समय यात्रा गर्नु थप खतरनाक हुने भन्दै संघले यस्तो अभ्यासले एकातिर पर्यटकको ज्यान जोखिममा पार्ने र अर्कातिर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन छविमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा मात्रै लेक लागेर १८ जना पर्यटकको मृत्यु भएको थियो। तीमध्ये ८ जना भारतीय, तथा अमेरिका, जर्मनी, कोरिया, स्विजरल्याण्डका १–१ जना र ६ जना नेपाली थिए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका तथ्यांकअनुसार २०८१ सालमा मात्र मुस्ताङ जिल्लामा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिकले लेक लागेर ज्यान गुमाएका थिए।
त्यस्तै, केही समयअघि काठमाडौंबाट हेलिकोप्टरमार्फत सिधै सगरमाथा क्षेत्र पुगेका एक अष्ट्रेलियाली पर्यटकलाई लेक लागेपछि आकस्मिक रुपमा काठमाडौं फर्काउनुपरेको घटनाले पनि सतर्कता जरुरी भएको संकेत गर्छ।
होटल संघ गण्डकीले पर्यटनलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन बनाउन सबै सरोकारवालालाई संयुक्त रूपमा काम गर्न आह्वान गरेको छ।






