नेपाल पत्रकार महासंघ कास्कीद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, १५२ जनाले सेवा लिए

-


     केन्द्रीय आवाज    
     असार १२ गते २०८२ मा प्रकाशित


१२ असार, पोखरा
नेपाल पत्रकार महासंघ कास्की शाखाको ४९औं स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ कास्की अन्तर्गत हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न उक्त शिविरबाट १५२ जना पत्रकार, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन ्।
शिविरमा नेपाल नेत्र ज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले आँखा उपचारको क्षेत्रमा नेपाल दक्षिण एशियामै अब्बल रहेको बताए । उनले भने, “अन्य रोगको उपचारका लागि नेपाली विदेश जाने गरेका छन्, तर आँखा उपचारका लागि विदेशी नागरिक नेपाल आउने गरेका छन्।” उनले पत्रकारहरूको आँखामा कुनै समस्या देखिएमा महासंघको सिफारिसमा हिमालय आँखा अस्पतालले आवश्यकताअनुसार उपचारमा विशेष सहुलियत दिने प्रतिबद्धता पनि जनाए ।
शिविरमा प्रशासकीय अधिकृत कुमार गर्बुजा, नेत्र अधिकृत गोविन्दनाथ योगी लगायत ९ जनाको विशेषज्ञ टोली सहभागी थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन महासंघका सचिव भूपाल गुरुङले गरेका थिए ।