राइड सेयरिङ र सेल्फ ड्राइभ सेवाको विरोधमा यातायात व्यवसायीको बन्द, परीक्षार्थी मर्कामा ।

-


     तुलसी राम सुवेदी    
     जेठ १८ गते २०८२ मा प्रकाशित


तुलसी राम सुवेदी,
पोखरा, जेठ १७
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवालाई कानुनी मान्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीहरूले शुक्रबारदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात सेवा अवरुद्ध गरेका छन ्। यसले विशेषगरी शिक्षासेवा आयोगको परीक्षा दिन आएका परीक्षार्थीहरू र सर्वसाधारण यात्रुहरूलाई ठूलो समस्या परेको छ।
बन्दका कारण सार्वजनिक सवारी नचलेपछि परीक्षा दिन आएकाहरू घर फर्कन नसकी अलपत्र परेका छन ्। “परीक्षा त दिइयो, अब घर फर्कन सकिन्न, गाडी छैन” परीक्षार्थीले गुनासो गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा सुरु गरिएको आन्दोलनअन्तर्गत लामो तथा छोटो दूरीका बस, ट्याक्सी तथा सार्वजनिक ढुवानी सेवाहरू ठप्प पारिएका छन्। व्यवसायीहरूले निजी नम्बर प्लेट भएका सवारीसाधनलाई सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न दिने सरकारी निर्णयले पारम्परिक यातायात व्यवसाय नै संकटमा पर्ने भन्दै कडा विरोध जनाएका छन्।
यातायात व्यवसायीहरूले सरकारसँग तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्। यदि माग पूरा नभए जेठ १९ गतेदेखि देशव्यापी रुपमा सम्पूर्ण यातायात सेवा बन्द गर्ने चेतावनी पनि दिएका छन्।
गण्डकी प्रदेश सरकारले जेठ ३० गते ’राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालन सम्बन्धी नियमावली २०८१’ लागू गरेको थियो। नियमावलीअनुसार, राइड सेयरिङ सेवाका लागि कम्तीमा २० सवारीसाधन अनिवार्य गरिएको छ भने सेल्फ ड्राइभका लागि ५ वटा सवारीसाधन आवश्यक छ। दुई पाङ्ग्रे सवारीका लागि २५ हजार र चार पाङ्ग्रे सवारीका लागि ५० हजार रुपैयाँ अनुमति शुल्क निर्धारण गरिएको छ।
नियमावली लागू भएसँगै गण्डकीमा मात्र करिब १६ हजार सार्वजनिक सवारीसाधन ठप्प भएका छन्, जसको प्रत्यक्ष असर यात्रु र विशेषगरी विद्यार्थी र परीक्षार्थीहरूमा परेको छ।
प्रशासनले सम्पुर्ण परिक्षार्थीहरुलाई सवारी साधनको ब्यवस्था गरेर आआफ्नो गन्तब्यमा पठाउने आश्वाशन दिएको छ ।