फोटोपत्रकार संघ कास्कीको अधिवेशन सम्पन्न अध्यक्षमा राम गुरुङ निर्वाचित ।

-


     तुलसी राम सुवेदी    
     फागुन २६ गते २०८१ मा प्रकाशित


पोखरा, २६ फागुन,
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको पोखरामा भएको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोख्रेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।
अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष पौडेलले समाचार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चूनौति सामना गर्नुपर्ने बताए । समाचारका लागि अति आवश्यक फोटो खिच्ने पत्रकारहरु एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । ‘समाचारका लागि फोटो अति आवश्यक चिज हो । अर्को अर्थमा भन्नुपर्दा समाचार आज लेख्यो भोली पुरानो हुन सक्छ तर फोटो कहिल्यै पुरानो हुँदैन्,’ उनले भने, ‘समचारको महत्वपूर्ण पाटो फोटो खिच्ने पत्रकारहरु एकजुट हुनु आवश्यक छ र रहिरहनेछ ।’ कास्कीका फोटो पत्रकारहरुले सिर्जनात्मक काम गर्नुपर्नेमा उनको जोड थियो । फोटोपत्रकारका हरेक गतिविधिमा पत्रकार महासंघको सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारमा फोटोको महत्व जति छ त्यो भन्दा बढि फोटो पत्रकारको महत्व रहेको बताए । फोटो बिना समाचार र पत्रकार अपुरो हुने भएकाले आगामी दिनमा पत्रकार महासंघ र नेपाल फोटो पत्रकार संघ सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिइन् । केन्द्रमा भएको फोटो पत्रकार संघ टुटफुट भएपनि कास्कीबाट एकजुटको सन्देश दिनुपर्ने उनले बताइन् ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलले २०६२÷०६३ को जनआन्दोलनको समयमा एकजुट भएका फोटो पत्रकारहरुको संस्थाले विभिन्न समयमा फोटो प्रदर्शनीलगायत अन्य रचनात्मक कार्यक्रम गर्दै आएको बताए । आगामी दिनमा पनि अझै क्रियाशिल भएर लाग्न उनको सुझाव थियो । संघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले २०६२÷०६३ को जनआन्दोलन क्रममा तस्विर खिच्ने क्रममा बिभिन्न समस्या भोग्नु परेपछि आन्दोलनकै दौरानमा स्थापना भएको संस्था अहिलेको अवस्थामा आईपुगेको बताए । २०५३ सालमा काठमाण्डौंमा खोलिएका राष्ट्रिय फोटो पत्रकार समूह नेपालको शाखाका रुपमा स्थापित संस्था केन्द्रमा गुटबन्दीमा परी टुटफुट भएको अवस्थामा कास्की एक भएर अघि बढिरहेको उनले सुनाए । संघले राजनीति बाहेक, पर्यटन प्रवद्र्धन र वातावरण संरक्षण तथा जनचेतनामूलक फोटो प्रदर्शनी गरिरहेको जानकारी दिए ।
पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलले केन्द्रमा केन्द्रले २०७४ सालमा गरेको भद्र सहमति र निर्णय लत्याए पनि कास्कीमा केन्द्रकै निर्णय अनुसार दर्ता गरिएको नेपाल फोटो पत्रकार संंघ कास्की विना कुनै गुटबन्दी अहिलेसम्म चलिरहेको जानकारी दिए । वि.सं २०७४ सालमा दर्ता भएको नेपाल फोटो पत्रकार संंघ, कास्कीको पहिलो नेतृत्व आफैले गरेको उनले सुनाए । त्यसपछिका अध्यक्षहरुले पनि संस्थालाई जोगाएर विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।

फोटो पत्रकारहरुको अर्को संस्था फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाले फोटो पत्रकारहरु एकजुट हुनुपर्ने सन्देशसहित आफूहरुको संस्था नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा गाभिएको घोषणा गरेको छ । २०६७ सालमा कास्कीमा स्थापना भएको फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था एनपिजेए कास्कीमा गाम्ने घोषणा गरेका हुन् । ‘यति सानो शहरमा फोटो पत्रकारहरुको संस्था किन धेरै बनाउनु छ र अध्यक्ष गिरीले भने, ‘अहिलेको अवस्थामा पोखरामा क्रियाशिल फोटो पत्रकारहरु एक भएको सन्देश दिन जरुरी छ । आजैका दिन देखि म अध्यक्ष रहेको संस्थालाई एनपिजेए कास्कीमा समाहित गरिएको जानकारी गराउँछु ।
दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीमा क्रियाशिल फोटोपत्रकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।