प्रेसचौतारी नेपालको स्थापना दिवसको अवसरमा कास्कीका दुई पत्रकार सम्मानीत ।

-


     तुलसी राम सुवेदी    
     माघ २२ गते २०८१ मा प्रकाशित


पोखरा, २२ माघ ।

प्रेस चौतारी नेपाल, कास्की शाखा द्धारा सञ्चालित प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ बाट सगरमाथा टेलिभिजनका सम्पादक अग्रज पत्रकार गणेशमान गुरूङलाई सम्मानित गरियो । त्यसै गरि प्रेस चौतारी पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ ।

प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले सम्मान एवं पुरस्कार अर्पण गरेकोे हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सम्मानित व्यक्तित्वलाई दोसल्ला ,नगद तथा सम्मान पत्रले सम्मान गरेका थिए ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको थियो ।


सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । स्याङ्जा सिरूबारी जन्मस्थान रही पोखरा १५ मा स्थायी बसोबास गर्दै आएका गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । गुरुङ २०६४ साल देखि सगरमाथा टेलिभिजनमा आबद्ध रहेका छन भने १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन् । गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट तत्कालिन राष्ट्रिपती बिधादेवी भण्डारी द्धारा विभूषित भइसकेका छन् ।

त्यस्तै पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् ।
प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैगरी, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भएका छन् ।