बिश्व सिमसार दिवस

-


     केन्द्रीय आवाज    
     माघ २० गते २०८१ मा प्रकाशित


बिश्व सिमसार दिवस

२०, माघ पोखरा
‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगस्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ । कुल १७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ ।


हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् ।

सिमसार क्षेत्र भन्नाले वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति आश्रय स्थल साथै पानीको आधारदेखि जलाधारका स्रोत भन्ने मानिन्छ । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चरा–चुँरुङ्गीहरुको पनि वासस्थान रहेको हुन्छ । पछिल्लो समय मानवीय विकास क्रम का साथै पूर्वाधारहरूको निमार्ण का क्रमले नेपालमा सिमसार क्षेत्र नासिने र अतिक्रमणमा पर्ने गरेका छन् ।
यस्तै सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रलाई पृथ्वीको मिर्गौला पनि भन्ने गरिन्छ । मिर्गौलाकै राम्रो संरक्षण गर्न नसकेमा पृथ्वी अनि यसमा बस्ने हाम्रो अस्तित्व कत्तिको सहज हुन्छ । अझ सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साईबेरियादेखि चराहरु आइपुग्छन् भन्ने अध्ययनहरूले देखाएको छ ।
यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ । विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखराका नौ वटै तालहरू सिमसार क्षेत्र हुन् । नेपालमा ठुला–साना गरी ४ हजार नजिक सिमसार क्षेत्र छन् ।

पोखराका तालहरू हरेक वर्ष ताल खुम्चिँदै अनि बस्ती बढ्दै गइरहेको छ । ताल–किनारमा होटेल–घर निर्माणको क्रम बाक्लिँदो छ । त्यसरी अन्यत्र पनि भू–अतिक्रमण बढ्दै गइरहेको छ । त्यस कारण सिमसार क्षेत्र जोखिम परेका छन् । सिमसार क्षेत्र वरिपरि पूर्वाधार खडा गर्ने काममा सरकारले कडाइ गर्न सकेको पाइँदैन । त्यसअतिरिक्त सिमसार सुकाउने गरी अत्यधिक मात्रामा भूमिगत पानीको दोहन गर्ने कार्य पनि बढ्दै गएको छ । अतिक्रमणले गर्दा बर्सेनि सिमसार क्षेत्र सागुरिदै गएका छन् ।
आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तव्य हैन र रु कानुनको दायरा फराकिलो पार्दै यस्ता दोहन कार्यमा संलग्नहरूलाई कानुनी सजायको दायरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ, नत्र मानव समुदायको अस्तित्व सङ्कटमा छ । तपाई–हामी आफै सिमसार क्षेत्रको संरक्षण गर्न अघि बढ्न जरुरी छ ।