
१ माघ नवलपुर
हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।
गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए ।
“नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिने बताउदै उनले गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर जान सकिने बताए।
कालीगण्डकी चोकबाट करिडोरको बाटो हुँदै चारपाङ्ग्रे सवारीसाधनबाट कालीगण्डकीको पक्की पुलबाट देवघाटधाममा नै पुग्न सकिने भन्दै शिलान्यासचोक हुँदै ब्रिटिस क्याम्प भएर दुईपाङ्ग्रे सवारीसाधनमा देवघाटको केलादीघाटमा पुग्न सकिने बताए ।
चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै वडाध्यक्ष तिवारीले नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने बताए । गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको व्यवस्था गरिएको बताए ।
कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको जनाउँदै बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको बताए ।
माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ ।
चितवनतर्फबाट देवघाट पुग्न पुलचोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने हुन्छ तर नवपुरतर्फबाट करिब पाँच किलोमिटरमा देवघाट पुग्न सकिने भएको हुंदा सो बाटो प्रयोग गर्दा सहज हुने जनाईएको छ ।
मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।




