
पुस १५, पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताउदै परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे ।
तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताए ।



‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक रहेको र यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताउदै प्रदेश प्रमुख भट्टले नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियाली स्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने बताए ।
तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको दिन मनाइँदै आएको ल्होछार सांस्कृतिक पर्व रहेको र तमु जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व रहेको भट्टको भनाई छ ।
साथै तमु जातीले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको र नेपालको ग्रामीण पर्यटन प्रवद्र्धन मार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिकाको पनि प्रशंसा गरे ।




