अचम्मको लहरी छुट्ने ढोरबाराही मन्दिर , लामो समय सम्म बोली नफुटेका सन्तान कुण्डमा डुवाएपछि वोल्ने जनविश्वास ।

-


     तुलसी राम सुवेदी    
     पौष १३ गते २०८१ मा प्रकाशित


३ पौष कास्की
ढोरवाराही मन्दिर तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका ९ मा पर्ने एक प्रसिद्ध तीर्थस्थल हो । यो मन्दिर धार्मिक पर्यटनका हिसाबले अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलको रूपमा समेत रहेको छ । यहाँ वर्षैभरी दर्शनार्थीहरु को घुइँचो लाग्ने गर्दछ । पहाडको फेदी र मनोरम जंगलको बिचमा रहेको ढोरवाराही मन्दिर अत्यन्तै मनोरम छ । यस मन्दिर सम्म पुग्नका लागि यातायातको सहजता रहेको छ । मन्दिर छेउमा रहेको कुण्डमा बेलाबेला एक्कासी पानी बढेर आउने गर्दछ यसरी पानी आउनुलाई लहरी छुटेको भनिन्छ । जसलाई दैवी शक्तिको रूपमा समेत लिने गरिन्छ । चट्टानैचट्टानको विचबाट यतिठूलो मात्रामा पानी आउनुलाई ढोरवाराही माताको शक्तिको रूपमा लिइन्छ ।


यस कुण्डमा थरीथरीका माछाहरु देख्न सकिन्छ भने यसै कुण्डको पानी मै वली दिने गरिन्छ । पोखरीको पानी आउने द्वारमा रजबाम रहेको छ यो रजवाम लहरी छुट्ने बेलामा मात्रै कहिलेकाही बाहिर निस्कने गर्दछ । पानी बढेर आउनु पहिल्यै कुण्डमा रहेका माछाहरु सतर्क भई पानी आउने द्वारतिर फर्कन्छन् जसले दर्शनार्थीलाई अचम्भित पार्ने गर्दछ । बिरलै चल्ने लहरी र रजवामको दर्शनले मनले चिताएको कुरा पुरा हुने जनविश्वास रहेको छ ।
रजबाम लहरी छुट्ने द्वारमा बस्दछ र लहरी छुट्ने बेलामा मात्रै बाहिर निस्कन्छ । यसलाई कसैले रजबाम ले पानी थुनेर बसेका कारण उ निस्कदाँ लहरी आउँछ भन्ने गर्दछन तर यो लहरी कसरी चल्छ भन्ने कुरा आज सम्म अध्ययन कै बिषय बनिरहेको छ ।
०४२ सालदेखि ०४६ सालसम्म यहाँ लहरी आउन रोकिएको बताईन्छ र पछि पुन ०४६ सालदेखि सुरु भएको थियो । ०७२ सालमा गएको महा भुकम्पले समेत लहरी रोकिएको र पछि पुनः लहरी चल्न थालेको छ बताईन्छ ।
सन्तान नहुने दम्पतीले सन्तानको बर माग्न र बर पुरा भएपछि पञ्चबली सहित पुजा गर्न आउने चलन रहेको छ । जन्मेका सन्तानहरु पनि समयमा बोल्न नसकेको खण्डमा बोल्ने बर माग्ने र सो बर पुरा भएपनि बलि सहित पुजाका लागि आउने गरिन्छ भने कयौ लाई कुण्डमा डुवाउदा पनि बोल्ने जनविश्वासका कारण समयमा बोल्न नसकेका आफ्ना सन्तान लाई कुण्डमा डुवाउने चलन छ । यो मन्दिरमा कास्की , स्याड.जा ,पर्वत ,लम्जुड.,लगाएतका स्थानहरुबाट दर्शनार्थीहरु आउने गर्दछन ।
ढोरवाराही मन्दिरमा पशुबलि दिने प्रथा छ । तर रामनवमी औँसी र एकादशीको दिनमा भने बलि दिइँदैन । यहाँ परेवा उडाउने र पाठापाठी तथा राँगाको बलि दिइन्छ । यो मन्दिरमा कुखुराको बलि निषेध गरिएको छ । यहाँ लम्साल थरका ब्राह्मण पुजारी छन् ।