
२०८१ मंसिर ३ ,पोखरा
नेपालको राजधानी काठमाडौँ विश्वकै प्रदुषित शहरमध्ये १७ औँ स्थानमा परेको छ । आईक्यू एयरका अनुसार सोमबार बिहान काठमाडौँको प्रदुषण एक्यूआई एक सय २७ मापन गरिएको बताइएको छ ।
यसैगरी भारतको राजधानी नयाँदिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । पाकिस्तानको लाहोरलाई समेत उछिन्दै दिल्लीले शीर्ष स्थान कब्जा गरेको जनाईएको हो ।


आईक्यू एयरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर नौ सय ३१ एक्यूआई रहेको थियो । यो अवस्थालाई निकै खतरनाक अवस्था मानिन्छ । दोस्रो स्थानमा रहेको लाहोरको एक्यूआई चार सय १४ रहेको जनाईएको छ । त्यसैगरि तेस्रो स्थानमा बंगलादेशको ढाका सहर रहेको जनाईएको छ भने त्यहाँको एक्यूआई दुई सय ४२ मापन गरिएको छ ।
यसलाई पनि स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । चौथो स्थानमा इराकको राजधानी बगदाद र पाँचौँ स्थानमा भियतनामको हानोई शहर रहेको छ ।
त्यसपछि शीर्ष १० मा क्रमशः भारतको कोलकाता, उज्बेकिस्तानको तास्केन्ट, बोस्निया हर्जगोभिनाको साराजेभो, पाकिस्तानको कराँची र भारतकै मुम्बई शहर छन् ।






