
कार्तिक ७ पोखरा
पोखराबाट तनहुँको मानहुँकोट घुम्न गएका १३ जनाको समूहमाथि लुटपाट सहित सांघातिक आक्रमण भएको छ । यो घटना गत शुक्रबारको बिहानको हो । तनहुँको व्यास नगरपालिकास्थित बेलवासलगायतका युवाको समूहले पोखराको समूहमाथि सांघातिक आक्रमण गरेका हुन् । उनीहरुले खुकुरी, लाठी, हेलमेटले आक्रमण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनामा पाँच पोखरेली युवा गम्भीर तथा अन्य सामान्य घाइते भएका थिए । गम्भीर घाइतेलाई टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनीहरुको तनहुँस्थित दमौली अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणमा परी घाइते हुनेमा पोखरा–१५ नयाँगाउँका २७ वर्षीय बिपिन गुरुङ, पोखरा–१६ दीपका ३२ वर्षीय रामेश्वर धिताल, स्याङजा वालिङ–८ घर भई हाल पोखरा–११ रानीपौवा बस्ने २९ बर्षीय युवराज गुरुङ, रानीपौवाकै २७ बर्षीय बिष्णु गुरुङ र पोखरा–१८ साराङकोटका २९ बर्षीय सिद्धार्थ डङ्गोल छन् । आक्रमणकारी समूहले पोखरेली समूहको नगद, घडी, मोवाइल, बेरुवा औँठी, एटीएम कार्डलगायतका सामग्रीसमेत लुटपाट गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार आक्रमणकारी समूहका पाँच जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको छ । पीडित युवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दायर गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । स्रोतका अनुसार सात वटा मोटरसाइकलमा १३ जना पोखरेली युवा मानहुँकोट घुम्न गएका थिए । शुक्रबार बिहान मानहुँकोटमा रमाइलो गरिरहेका अवस्थामा ती युवामाथि एक्कासि आक्रमण भएको थियो ।






