
कार्तिक ६,पोखरा
पोखरामा केहि समय देखि बढेको डेँगुका कारण रगतको माग वृद्धि भएको र यसै बेला चाडपर्व परेका कारण बिभिन्न संघसंसथाहरु द्धारा रक्तदान र रक्तसङ्कलन कार्यक्रम कमी हुँदा पोखरामा रगत अभावको महसुश हुन थालेको छ ।
नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दशैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको र डेँगुका कारण माग वृद्धि हुँदा रगत अभाव हुने अवस्था आएको जनाएको छ । केन्द्रले सवैलाई रक्तदान गर्न समेत आह्वान गरेको छ ।
रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजे साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना समेत गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र वटुवालाई रगत दिन आग्रह गरिएको हो ।

केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक सय ३१ युनिट रगत सङ्कलन भएको रक्तसञ्चार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले बताए ।
दशैँका समयमा विभिन्न सङ्घ संस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेँगुको सङ्क्रमण समेत बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा हाहाकारको अवस्था आएपछि सवैलाई आह्वान गरिएको ज्ञवालीले जनाए । ज्ञवालीले आकस्मिक कार्यक्रमका लागि आह्वानपछि विभिन्न सङ्घ संस्थाले रक्तदानकार्यक्रम राखेको जानकारी दिए । केन्द्रले अभाव महसुुस गरेपछि आह्वान गर्ने गरेको र आपूर्तिको व्यवस्थापनका लागि पहल गर्दै आएको ज्ञवालीले जनाए ।
नेपाल स्वयमसेवी रक्तदाता समाज कास्कीले हरेक दिन जसो आकस्मिक रक्तदान कार्यक्रम संचालन गर्दै आईरहेको छ । समाजले दैनिक बिभिन्न रक्त समूहका सदरर दस यूनिट ताजा रगत ब्यवस्थापन गर्दै आएको संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीले बताए । कसैले पनि रगतको अभावले ज्यान गुमाउन नपरोस भन्ने हेतुले स्वस्फुर्त रुपमा रक्तदान गरिदै आएको अधिकारीले बताए ।
डेङ्गु सङ्क्रमण बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत सङ्कलन गर्नुपर्ने अवस्था रहेको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ ।

रगत अभावलाई मध्यनजर गर्दै पोखरास्थित बिभिन्न सामाजिक संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना सुरु गरेका छन ।
पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ । प्रदेशका अन्य जिल्ला अस्पतालबाट समेत यहाँका अस्पतालमा बिरामी थप उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग बढी हुने गर्दछ ।




