
तुलसी राम सुवेदी,श्रावण १३ पोखरा,
नेपाल यातायात व्यवसायी महासंघको आह्वानमा सार्वजनिक यातायात व्यवसायीले गरेको आन्दोलन स्थगीत भएको छ ।
विभिन्न सरोकारवाला बीच आज २ बुँदे सहमति भए सँगै नेपाल यातायात व्यवसायी महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले जानकारी दिए ।
सहमति अनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, प्रदेश समिति, पोखरा, कास्की, राइडर्स पोखरा, नेपाल र सम्पूर्ण रेन्टल व्यवसायी (बाईक तथा स्कुटर) ले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई सम्बोधन गरी पेस गरेका ज्ञापनपत्र अध्ययन गरी सो सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न प्राविधिक समिति गठन गरिएको छ । समिति संयोजकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मी छन् ।

समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, प्रदेश समिति, पोखरा, कास्की, सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेश, राइडर्स पोखरा नेपाल, उपभोक्ता मञ्च नेपाल गण्डकी प्रदेश, यातायात मजदुरमध्येबाट १ जना प्रतिनिधि र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अधिकृत सदस्य सचिव छन् ।
समितिले सबै ज्ञापनपत्रहरु अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्राविधिक प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने र आवश्यकतानुसार सम्बन्धित विषयको विज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्नेछ ।
साथै नेपाल यातायात व्यवसायी महासंघबाट यातायात क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्ने÷नगराउने र प्रचलित कानूनको पूर्ण पालना गर्ने सहमति भएको छ ।

यसै गरि सार्वजनिक यातायात व्यवसायीको हड्तालको समाचार संकलनका क्रममा पोखराको पृथ्वीचोकमा पत्रकार द्वय सुरज थापा मगर र बिनाकुमारी थापामाथि आज दिउँसो हातपात भएको थियो । पोखराका दुई पत्रकारमाथि अभद्र ब्यवहार सहित आक्रमण गर्ने पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा–९ शान्तिवन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्ने ३३ बर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा –१६ लामाचौरका बसका सहचालक १६ वर्षीय प्रशान गुरुङ, लम्जुङ सुन्दरबजार–१ कुन्छा घर भई हाल पोखरा–५ जिरोकिमी बस्ने ट्याक्सी चालक–२८ बर्षीय सन्तोष बस्नेत र स्याङ्जा आँधीखोला–२ पोखराचौर घर भई हाल पोखरा–१७ घारीपाटन बस्ने ३५ बर्षीय टंकबहादुर क्षत्री छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार उनीहरुविरुद्ध अभद्रव्यवहारसम्बन्धी मुद्दा अघि बढाइनेछ ।
पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले कडा आपत्ति जनाएका थिए भने आक्रमणकारीलाई कार्वाही गर्न दवाव दिएका थिए ।
राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध सार्वजनिक यातायात व्यवसायीले आफ्ना सवारी थन्क्याएर नै आन्दोलमा होमिएका थिए । आन्दोलनका कारण गण्डकी प्रदेशभरि आज सार्वजनिक सवारी सञ्चालन ठप्प भए ।




