हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

-


     केन्द्रीय आवाज    
     श्रावण ४ गते २०८१ मा प्रकाशित


४ श्रावण बाजुरा
सुत्केरी समस्यामा रहेकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत आज उद्धार गरिएको छ ।
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–४ महतीकी २६ वर्षीया सागरा दमाईंलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सुत्केरी व्यथा लागेर बूढीनन्दामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकी दमाईंको अवस्था जटिल भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्भवतीको अवस्था जटिल भएको पत्र प्राप्त भएपछि प्रशासनको समन्वयमा उक्त महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार पाँच वर्षयता ३८ जना बढी गर्भवती तथा सुत्केरीको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुर्गमका गर्भवती र सुत्केरीको अवस्था जटिल भएमा उद्धार गरी उनीहरुको ज्यान बचाउने गरी सरकारले उक्त कार्यक्रम सञ्चालन गर्दैै आएको छ ।