
चैत १९ गते काठमाडौ
गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको संख्या बृद्धि भएको नेपाल पर्यटक बोर्डले जनाएको छ । गत बर्षको तुलनामा यस बर्ष २८ हजार सात सय ४१ ले वृद्धि भएको बताईएको छ । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका छन् ।
मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएको जनाईएको छ । भारतबाट सो अवधिमा ३० हजार ६ सय ९८ पर्यटक नेपाल भित्रिएका छन् । चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ ।
बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार सात सय ७३ र बेलायतबाट ७ हजार दुई सय ४१ जना, श्रीलङ्काबाट ५ हजार सात सय ४१, जर्मनीबाट ५ हजार २ सय ५५, थाइल्याण्डबाट ४ हजार ३ सय ४५, फ्रान्सबाट ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार १ सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
दक्षिण एसियाली (सार्क) मुलुक बाट ४० हजार ७ सय २७, एसिया (अन्य)बाट २८ हजार ६ सय ४८ युरोपबाट २७ हजार ५ सय ८२, ओसनियाबाट ४ हजार ७ सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६ सय १४ जना पर्यटक नेपाल आएको जनाईएको छ ।
यस वर्षको जनवरीमा ७९ हजार १ सय र फेबुरीमा ९७ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा २ लाख २७ हजार ७ सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो तीन महिनामा ३ लाख ४ हजार ६ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।






