
चैत १७ गते , इलाम
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कामय राख्न एवं अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न निर्देशन दिए ।
कोही कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन गद गृहमन्त्री लामिछानेले कानुन पल्टाउँदा जे भन्छ त्यही गर्न र कानुबमोजिम काम गर्न गृहमन्त्रीको निर्देशन र आदेश पर्खिरहन नपर्ने बताए ।
साथै उनले अबको प्रगति विवरण कागजमा होइन, तथ्याङ्कमा आउनुपर्ने कुरामा जोडदिदै कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलाम स्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन् । इलाम स्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग आज गरिएको छलफलमा उनले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिएका हुन् ।
सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी काम गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिए । उनले पीडितको पक्षमा राज्य छ भन्ने अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा समेत जोड दिए । “तपाईहरुले कानुनको पालना गराउनुहोस्, कानुनविपरीत काम गर्ने छुट कसैलाई छैन”, उनले भने ।
गृहमन्त्री लामिछानेले आफूहरु जनताका लागि काम गर्न सरकारमा सहभागी भएको उल्लेख गर्दै मन्त्रालय मातहतका निकायले प्रगति विवरण कागजले बोल्ने, मन्त्रीले अनुभूत गर्ने खालको नभई जनताले परिवर्तन भयो भन्ने प्रत्यक्षरुपमा महसुस हुने गरी काम गर्न निर्देशन दिए । उनले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, लागुऔषध एवं अवैध चोरीनिकासी नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।
इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन गृहमन्त्री लामिछाने इलाम आएका हुन् । रास्वपाले उक्त क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि उनि आजै किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न माङ्सेबुङ–५ लारुम्बा पुगेका थिए ।




