सिँचाइको सुबिधाले भरतपुरको लाखु टाँडीमा चैते धान हराभरा ।

-


     केन्द्रीय आवाज    
     चैत्र १३ गते २०८० मा प्रकाशित


१३ चितवन
केही वर्षअघिसम्म पश्चिम चितवनका अधिकांश जमिनमा आकासे पानीको भरमा खेती गर्न पर्ने थियो । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर पनि चिनिन्थे । कुनै बेला सिँचाइ अभावमा खेती नहुने पश्चिम चितवनका टाँडीमा अहिले बोरिङसँगै खेती हराभरा हुन थालेको स्थानियहरु बताउछन ।
भरतपुर महानगरपालिका–२७ नयाँपटिहानीका जीवन महतो आइतबार मध्याह्न खेतमा पानी पटाउन तल्लीन थिए । उनले करिब दुई बिघा क्षेत्रफलमा लगाएको धानखेतीलाई सिँचाइका लागि बोरिङ सञ्चालन गरेर पानी पटाउँदै थिए । उनले भने, “सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ ।” सिँचाइ भएसँगै यस क्षेत्रमा हजारौ बिघा धानखेती गर्न किसान आकर्षित भएको उनले बताए ।

स्थानीय किसान हठन महतो पहिला दुई बाली मात्रै लगाइने आफ्नो जमिनमा तीन बाली खेती गर्न थालेको बताउछन् । सिँचाइको समस्या हुँदा आकासे पानीको भरमा धान, मकै, तोरीजस्ता बाली लगाउँदै आएको बताउने उनी अहिले आफ्नो १० कठ्ठा जग्गामा चैते धान खेती गरिरहेका छन् । विगत केही वर्षदेखि सिँचाइको व्यवस्था गरेर चैते धान लगाउन थालेको उनले बताए । सिँचाइ सुविधा भएपछि यस क्षेत्रका किसानले धानसँगै तरकारी खेती गर्न थालेको उनले बताए । उनले भने, “सिँचाइले गर्दा हाम्रो आयआर्जनमा सहयोग पुगेको छ ।”

स्थानीय किसान महतो अहिले दुई बाली धान र एक बाली तोरी र फापर लगाउने गरेको बताउछन् । सुक्खा क्षेत्रका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको व्यवस्थासँगै पश्चिम चितवनको भरतपुर महानगरपालिकाका बासिन्दामा उत्साह थपिएको समेत उनले बताए ।
भरतपुर महानगरपालिका, चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतले सिँचाइको व्यवस्था गरेपछि यहाँको खेती प्रणाली नै फेरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू पहिलो पटक प्रमुख भएपछि थालिएको पहिलो महत्त्वपूर्ण काम सिँचाइ भएको बताउछीन् । पश्चिम चितवनका कतिपय टाँडी भूभागमा किसानलाई सिँचाइ अभाव भएको गुनासो आएपछि निरन्तर सिँचाइ अभियानमा जुटेसँगै यहाँको कृषि प्रणालीमा परिवर्तन ल्याउन सकेको उनले बताईन् ।

आफू प्रमुख भएर आएपछि सात हजार बिघामा थप सिँचाइ भएको उनको दाबी छ । भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना आफ्नै पहलबाट भरतपुरमा आएको भन्दै मेयर दाहालले तत्कालीन समयमा चितवन र झापाबाट सो कार्यालयले काम सुरु गरेको बताईन । उनले भनिन, “म पहिलोपटक निर्वाचनमा उम्मेदवार हुँदा पश्चिम चितवनका सुक्खा क्षेत्रका मतदाताको प्रमुख माग सिँचाइ रहेको स्मरण गरिन । त्यो क्रमशः पूरा हुँदै गएको छ । हिउँदमा पनि सिँचाइ गर्न नारायणी लिफ्ट आयोजनामा रु २९ करोडभन्दा बढी खर्च गरेर पम्प थप्ने काम भइरहेको उनले जानकारी दिईन ।
महानगरले विगत तीन आर्थिक वर्षमा साना सिँचाइका लागि ४ सय ७८ वटा बोरिङ र मझौला सिँचाइका लागि ५५ वटा बोरिङ किसानलाई वितरण गरेको छ । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित भएको र चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लामा २ हजार ३ सय ९१ हेक्टर क्षेत्रफल सिँचाइ गरेको भरतपुर महानगरपालिकाले जनाएकोछ ।