
चैत १२ गते ,पोखरा
तराई–मधेश क्षेत्रमा आज फागु पुर्णिमा (होली) मनाइँदै छ । पहाडी क्षेत्रमा हिजो फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ भने त्यस्कोे भोलिपल्ट तराई–मधेशमा फागुपर्व मनाउने चलन छ ।

काठमाडौं र पोखरा उपत्यका लगायत पहाडी भेगमा फाल्गुण शुक्ल पूर्णिमाका दिन फागुपर्व धुमधामका साथ मनाइएको छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ । तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाउने चलन छ ।
तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर, शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ । होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गर्ने गरिन्छ । यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ । रैथाने परिकारले समेत यो पर्वमा रौनक थप्छन् ।
पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ । यसै गरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ ।

यी प्रसंगलाई खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ। होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।




