
चैत्र ९ पोखरा ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट सफल प्रत्यारोपण गरिएको जनाएको छ ।
तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको मिर्गौला सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गरेकी थिईन ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै जनशक्तिबाट प्रत्यारोपण गरिएको र अव मिर्गौलाको उपचारका लागि अनयत्र धाउन नपर्ने अस्पतालका युरो सर्जन डा प्रकाश क्षेत्री बताए ।
यसअघि २०७९ असारमा पहिलोपटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।

पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अरुको सहयोग बिनानै यहीँकै चिकित्सकको टोलीले सो कार्य सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
बिहीबार अस्पतालका युरो सर्जनद्धय डा प्रकाश क्षेत्री र डा अनुप चापागाईँ, नेफ्रोलोष्टि डा जुजुराम श्रेष्ठ र डा अमृत केसी र जनरल सर्जन, डा. सन्तोष श्रेष्ठ ,डा डेभिड श्रेष्ठको टोलीले प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आठ वटा प्रत्यारोपणमा प्रत्यारोपण केन्द्रका चिकित्सकबाट गरिएकामा नवौँ प्रत्यारोपण पहिलो पटक प्रतिष्ठानका आफ्नै चिकित्सक र स्वास्थ्यकर्मीबाट गरिएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए ।
अस्पतालकै जनशक्तिबाट सो कार्य सम्भव भएपछि प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्था पनि कम हुँदै जाने उनले बताएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मिर्गौला प्रत्यारोपण गर्दा बिरामीले रु चार लाखसम्म सहुलियत पाउने गरेका छन् ।
विपन्न नागरिकको औषधोपचार कार्यक्रमअन्तर्गत अस्पताल सूचीकृत भएसँगै यहाँ प्रत्यारोपण गर्नेले सो सहयोग पाउने जनाइको छ ।




