
४ चैत पोखरा
नेपाल पत्रकार महासंघ कास्की द्धारा संचालित दयाशंकर स्मृति पुरस्कार पोखराका पत्रकार दीपेन्द्र श्रेष्ठ र मरणोपरान्त त्रिभुवन पौडेललाई पुरस्कार प्रदान गरिएको छ । पत्रकार श्रेष्ठ र स्वर्गीय त्रिभुवन पौडेलकी आमा र उनकी श्रीमती प्रतिभा पौडेललाई आज एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री दाहालले श्रेष्ठ र पौडेल परिवारलाई १÷१ लाख रुपैयाँ राशि नगद र सम्मानपत्र प्रदान गरे ।

पुरस्कार प्रदानपछि कार्यक्रमलाई सम्वोधन गर्दे प्रधानमन्त्री ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताए ।
साथै प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने समेत बताए ।
वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनले बताए । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको उनले बताए ।




