
फागुन २९ लेखनाथ
पोखरा ३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई आफ्नी छोरीले दिएको कलेजोले जिवन लम्बिएको छ ।
लामिछानेलाई विसं २०७५ तिर कलेजोमा समस्या देखियो । उनले करिव चार वर्ष औषधी खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधीले काम गर्न छाड्यो ।
एक वर्ष देखि रोगले गाल्न थाले पछि लामिछानेको स्वास्थ्य अवस्था गम्भीर हुन पुगेको थियो । लामिछानेको कलेजो क्षतिग्रष्त भएर राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रुपमा कलेजो नै प्रत्यारोपण गर्नका लागि सुझाएका थिए ।
देशभित्र सबै ठाउँमा कलेजो प्रत्यारोपण गर्न सहज पनि छैन र कमजोर आर्थिक अवस्थाका कारण भारतमा गएर उपचार गर्न सक्ने अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्च समेत कम हुने भएकाले उनले परिवारसँग सल्लाह गरे ।
तीन छोरी र दुई छोराका बाबु लामिछानेको प्रत्यारोपणका लागि परिवारमा छोरा÷बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै जानु र प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आस मारि सकेका थिए ।
लामिछानेकी जेठी छोरी रञ्जना लामिछाने बरालको रक्तसमूह मिलेको कारण प्रत्यारोपण गर्न मिल्ने चिकित्सकहरुले बताए ।
रञ्जनाले बाबुको जीवन बचाउन जोखिम उठाएर आफ्नो कलेजो बाबुलाई दिन तत्कालै तयार भईन । रञ्जनाको घरबाट समेत स्वीकृति मिले पछि सहज पुर्वक गत आइतबार भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलता पूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।
कलेजो रोगका कारण थलिएर जीवन मरणको दोसाँधमा उभिएका लामिछानले छोरीले कलेजो दिएपछि पुर्नजीवन पाएका छन् । छोरी रञ्जनाले साहशपूर्वक आफ्नो कलेजो दिएपछि अहिले बाबु र छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताए ।
बुबाको कलेजो प्रत्यारोपण गर्नु नै थियो तर मिलिरहेको थिएन । त्यसले गर्दा बुबालाई बचाउन सकिदैन कि भनेर चिन्तित रहेको बताउदै छोरा सुशीलले भने, अन्तिममा दिदीले दिन मिल्ने भएपछि बुबाको सफलतापूर्वक कलेजो प्रत्यारोपण हुन सकेको र अहिले बुबा र दिदी दुबै जना स्वस्थ रहेको बताए ।
आफ्नो कलेजो बुबासँग मिल्नु र प्रत्यारोपण कार्य सफल भएपछि रञ्जना पनि खुशी छन् ।






