पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको भव्य तयारी

-


     केन्द्रीय आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित


काठमाडौँ, २३ फागुन
यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई लक्षित गरी काठमाङडौको पशुपतीनाथ मन्दिर क्षेत्रमा भव्य तयारी भएको छ । महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ । महाशिवरात्रि पर्वलाई लक्षित गरि पशुपतीनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ ।
साथै पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरी भोलि बुधबार देखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमाना देखि पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरी देखि दक्षिण भित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।

पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाई भव्यरुपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको बताईएको छ ।

पशुपतिनाथ क्षेत्रमा तोकिएका चारकिल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको विकास कोषले जनाएको छ ।

सो पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिँदैछ । मन्दिर आसपासका क्षेत्रमा फूल र बत्तीको सजावट सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा सजावटको काम सुरु भएको जनाएको छ ।
कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको जनाएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजाआराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ । कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको पनि जनाएको छ ।