
पोखरा २९ पौष
पोखरा महानगपालिका २८ स्थित कालिकाको चित्राकोटमा नेपालकै ठुलो अर्धनारीश्वर शिव मूर्ती स्थापना गरिने भएको छ ।
बाईसेचौबिसे राजाले शासन गरेको ऐतिहाँसिक महत्व वोकेको चित्राकोटमा एक सय आठ फिट अग्लो मुर्ती निर्माण गर्न लागिएको हो ।
गहते दुरा रुख सामुदायीक वन उपभोक्ता समितिले आयोजना गरेको स्थानीय भेलामा सामाजिक अभियन्ता, तिमिल्सेना समाजका अध्यक्ष एवं अर्धनारीश्वर महादेव धार्मीक तथा पर्यटन क्षेत्र विकास समितिका संरक्षक दिपक तिमिल्सेनाले अर्ध नारीश्वर महादेव मन्दिर निर्माणका लागि तयार पारिएको डिपिआर वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेलाई हस्तान्तरण गरे ।
गहते दुरारुख सामुदायीक वन उपभोक्ता समितिको स्वामित्वमा रहेको सो क्षेत्रमा मुर्ती निर्माणसँगै आधुनिक सुविधा सम्पन्न गुरुकुल, वाल उद्यान, आधुनिक पार्क, भ्यू पोईन्ट, दुरा जातीको संग्रहालय निर्माणका साथै सो क्षेत्रको व्युटिफिकेसनका लागि डि.पि.आरमा समावेश गरिएको छ । परियोजना निर्माणका लागि ७४ करोड रुपया लाग्ने अनुमान गरिएको छ ।
परियोजना निर्माण भएर संचालनमा आएमा समग्र वडा नं २८ मा आन्तरिक तथा वाह्य पर्यटन आगमनमा वृद्धी भई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास स्थानिय जनताले गरेका छन् । वन उपभोक्ता समितिले परियोजना निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराउने निर्णय गरेको छ ।
चित्राकोटवाट उत्तरतर्फ लहरै लागेका हिमश्रृङखलाको अवलोकन गर्न सकिन्छ भने पुर्वमा वेगनास र रुपाको साथै दक्षिणतर्फ पोखरा लेखनाथ क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । यहावाट कास्कीका सातवटै तालहरु देख्न सकिन्छ ।




